काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८६ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीको उत्पादन बिक्रीबाट हुने सञ्चालन आम्दानी पनि बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७३ रुपैयाँमा सीमित थियो। अन्य स्रोतबाट हुने आम्दानी ५ करोड रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ। 

सेयरपुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो रिटेन्ड अर्निङमा २ अर्ब ५१ करोड रुपैयाँ थियो।  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १ हजार ६२९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ९२८ रुपैयाँ थियो। ईपीएस ७५.७४ प्रतिशतले बढेको छ।

पीई रेसियो ११.२७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९४२ रुपैयाँ रहेको छ।