काठमाण्डौ । संयुक्त राष्ट्र संघीय नियोग युनिसेफकी नेपाल प्रतिनिधि एसके विसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग बिदाइ भेट गरेकी छन्। 

युनिसेफ नेपाल प्रमुखका रुपमा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेकी विसले बिहीबार उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन्। आफ्नो कार्यकालमा युनिसेफले गरेका कामहरुलाई सहयोग गरेकोमा नेपाल सरकार र आयोगलाई उनले धन्यवाद दिइन। नेपाल सुन्दर देश रहेको र आफू नेपालमा नरहे पनि सम्झिरहने उनले बताइन्। 

उपाध्यक्ष श्रेष्ठले पनि युनिसेफको नेपाल प्रतिनिधिका रुपमा विसले गरेको सहयोग र सहजीकरणका लागि धन्यबाद दिए। युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी तथा वातावरण, शिक्षालगायतका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उनले धन्यवाद दिए। 

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाण्डौमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो। 

विगतका ५ दशकको साझेदारीमा देशले लिएका कैयौँ विकासका कदमहरुमा युनिसेफले सहयोग गरेको छ।  

प्रारम्भिक बाल हेरचाह र विकास, बालिकाहरूलाई शिक्षामा समान पहुँच, बाल सुरक्षा, बाल र मातृ स्वास्थ्य, सामुदायिक खानेपानी र सरसफाइका साथै दुर्गम क्षेत्रका बालबालिकालाई विद्यालयबाहिरको शिक्षाजस्ता कार्यक्रममा सहयोग गरेको युनिसेफले महिला केन्द्रित कार्यक्रम र समुदायको सशक्तीकरण र आनीबानी (व्यवहार) परिवर्तनको प्रवर्द्धनका लागि कार्यक्रमहरुसमेत सञ्चालन गरेको छ।