काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्थाको आयोजनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्वरोजगार कार्यक्रमअन्तर्गत महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ४ प्रेमनगरमा कृषक उद्यमीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। 

वित्तीय संस्थाका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा आज सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका सञ्चालक समितिका सदस्य डा. उमाशंकर प्रसाद रहेका थिए। विशिष्ठ अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्व मोहन अधिकारी, अतिथिहरु भंगाहा–४ का वडाअध्यक्ष गणेश प्रसाद महतो, मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, संचालक समितिका पदाधिकारीहरु र कृषक उद्यमी सहित करिब ४०० जनाको उपस्थिति रहेको थियो। 

प्रमुख अतिथि प्रसादले मेहनती बेरोजगार किसानलाई पहिचान गरी मिथिला लघुवित्तबाट भइरहेको स्वरोजगार कार्यक्रमको निरन्तरताका लागि आउने दिनमा पनि राष्ट्रिय योजना आयोगका तर्फबाट सहयोग गरिने प्रतिबद्धता गरे। उनले नेपाल सरकारको आगामी बर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको र किसानका उत्पादित बस्तुमा विभिन्न किसिमका रोग र किराको प्रकोप बढिरहेकोले बजेटमार्फत हरेक स्थानीय तहमा एकजना कृषि प्राविधिकको व्यवस्था मिलाइएको बताए। 

विशिष्ठ अतिथि विश्वमोहन अधिकारीले मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको विशेष पहलमा आएको स्वरोजगार कार्यक्रममा आवद्ध भई केही गर्न चाहने गरिब युवाहरुका लागि स्वरोजगार कोषले साथ दिने भएकाले विदेश जाने चाहना भएमा विदेश नगई आफ्नै भूमिमा उद्यमी बन्न कोषको सहयोग रहने बताए। 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राउतले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यबारे प्रकाश पार्दै मिथिला लघुवित्तले प्रवाह गर्दै आएको सेवासुविधाका बारेमा समेत जानकारी गराएका थिए। उनले युवा तथा साना व्यवसायी कोषबाट प्राप्त रकमलाई व्यवस्थित रुपमा बेरोजगार युवाहरुलाई तरकारी व्यवसायका लागि लगानी गरिएकोमा आगामी दिनमा पनि तरकारी खेती, फलफुल खेती, पशुपालन, मासुजन्य व्यवसायमा संलग्न हुन चाहने बेरोजगार युवा उद्यमीलाई प्राथमिकतामा राखि लगानी गरिने जानकारी गराए।