काठमाण्डौ । विगत एक दशकभन्दा अघिदेखि बेरोजगार युवाहरुलाई स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालनका लागि वित्तीय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र मिथिला लघुवित्त वित्तीय संस्थाबीच लघुकर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। 

यससम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको हो। समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा राउतले वित्तीय संस्थाले करिब ३२ हजार महिला सदस्यहरुलाई लघुकर्जा प्रवाह गरी रोजगारी सिर्जना गराई आत्मनिर्भर बनाउन उल्लेख्य योगदान गर्दै आएकोमा युवा स्वरोजगार कोषबाट प्राप्त हुने रकमलाई मधेश प्रदेशमा महिला सदस्यलाई तरकारी खेती र पशु पालनको लागि कर्जा प्रवाह गरी महिलाहरुको रोजगारी सृजना भई आत्मनिर्भर बनाउनको लागि सघाऊ पुग्ने धारणा राखे। 

कोषले निर्धारण गरेको लक्षित वर्गका परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पुर्याउने कोषका कार्यकारी निर्देशक अधिकारीले जानकारी गराए। 

हाल मिथिला लघुवित्तले मधेश प्रदेशका ८ जिल्लामा ४४ वटा शाखा कार्यालयमार्फत ३२ हजार ग्राहक सदस्यलाई करिब २ अर्ब ८ करोड लघुकर्जा प्रवाह गर्दै आएको छ।