काठमाण्डौ । उपभोक्ता लाटा भएका हुन् कि व्यापारी चाहि निर्दयी र नाफाखोर ? सरकार कमजोर भएको हो कि व्यापारी अटेरी ? कालोबजारी गर्नेहरुको शासन चल्न थालेको हो कि सरकारी बेवास्ता, कमजोरी र उपभोक्तावादीहरुको उदासीनताले पराकाष्ठा नाघेको हो ? अथवा, कानूनी राज्यको समूल नष्ट भई कालोबजारी राज्य पो सुरु भएको हो कि ? केही दिनअघिदेखि आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा राजधानीमा भइरहेको बजार अनुगमनमा देखिएका दृश्य र हदैसम्मको लापरबाहीले आम जनमानसको मानसपटलमा यस्तै यस्तै प्रश्नहरु उब्जाइदिएको छ । 

बजार अनुगमन, कालोबजारी नियन्त्रण र दोषीमाथि कडा भन्दा कडा कारबाहीको स्पष्ट जिम्मेवारी पाएर बसेका सरकारी निकायहरु कमजोर भएकै कारण विभागीय मन्त्री आफैं बजार अनुगमनमा खटिइनु आश्चर्य त थियो नै मन्त्रीकै सामुन्ने कुहिएको चिजबस्तु उपभोक्तालाई बिक्री गरिरहँदा तिनीहरुलाई समातेर थुन्ने आँटसम्म नगर्नुले आम उपभोक्तामा थप आश्चर्यको अनुभूत गराएको छ । बरु उल्टो अनुगमनको सूचना नदिई किन आएको भन्दै कालोबजारीमा संलग्न व्यापारीहरुले गरेको सागसब्जीको प्रहारलाई सहँदै आपूर्ति मन्त्री दैनिकजसो बजार अनुगमनमा निस्किरहेका छन्, अनि सो क्रममा बजार र व्यापारीले प्रमाणित गरिदिएका छन् उपभोक्ता हितको धज्जी उडेको । 

सागसब्जीमा अचाक्ली मूल्यवृद्धि, मिठाईमा मिसावट र दुर्गन्धित बस्तुको मिलावट, बासी मिठाईको खुलेआम बिक्रीको खबरसँगै शुक्रबार बधशालाबाट कुहिएर किरा परेको मासु बिक्री भइरहेको खबरले समेत उच्च स्थान पाएको छ । तर त्यस्तो मासु बिक्री गर्नेलाई पक्रेर थुन्ने आँट चाहि मन्त्रीले शुक्रबार पनि देखाएनन्, वा त्यस्तो मन गरेनन् । बरु उही ‘सुधारको चेतावनी र उपस्थित हुन आदेश’को पुरानै रटान दोहोर्याइयो, कर्मकाण्डी शैलीमा । 

के–के भयो शुक्रबार ?
मन्त्री नेतृत्वको टोलीले शुक्रबार काठमाडौंका माछा र मासु पसलमा गरेको अनुगमनको क्रममा उपभोक्ताले खरीद गरेर लैजाने मासुसँगै अत्यधिक फोहोर र दुर्गन्ध समेत फेला परेको छ । अनुगमन टोलीले बलम्बुको मोजमेल सेन्टर र कालिमाटीको ह्युमत सामुदायिक बधशाला तथा कालीमाटीको माछा पसल अनुगमन गर्दा अत्यधिक फोहोर र दुर्गन्ध फेला पारेको हो । 

बजार अनुगमन, कालोबजारी नियन्त्रण र दोषीमाथि कडा भन्दा कडा कारबाहीको स्पष्ट जिम्मेवारी पाएर बसेका सरकारी निकायहरु कमजोर भएकै कारण विभागीय मन्त्री आफैं बजार अनुगमनमा खटिइनु आश्चर्य त थियो नै मन्त्रीकै सामुन्ने कुहिएको चिजबस्तु उपभोक्तालाई बिक्री गरिरहँदा तिनीहरुलाई समातेर थुन्ने आँटसम्म नगर्नुले आम उपभोक्तामा थप आश्चर्यको अनुभूत गराएको छ । 

सरकारले शुरु गरेको अनुगमनको चौथो दिन शुक्रबार माछा र मासुको अनुगमन गरियो । आपूर्तिमन्त्री गणेशमान पुन समेत सहभागी अनुगमन टोलीले सतुंगल ८ को राँगा बजार बलम्बुमा अवस्थित मोजमिल सेन्टर नामक बधशालामा कुहिएको मासु र किरा फेला पारेको थियो । सर्वसाधारणले खाने मासु नजिकै स्याउस्याउती किरा परेका भैंसीका छाला, टाउको समेत बिक्रीका लागि राखिएको पाइएको थियो । बधशालामा रोगी र बिरामी भैंसीहरु समेत भेटिएका थिए । नियमअनुसार कुनै पनि पशुको बध गर्नुअघि पशु चिकित्सकले स्वास्थ्यको लागि त्यसको मासु खान योग्य भनी प्रमाणित गर्नुपर्छ । तर यहाँ यस्तो कुनै पनि काम नहुने गरेको समेत पाइएको छ । 

त्यति मात्र नभई मोजमिल सेन्टरले संचालन गर्दै आएको मासु पसलमा राँगोको मासु भन्दै भैंसीको मासु बेच्ने गरेको पाइयो भने ढक तराजु पनि  मापदण्ड विपरीत रहेका पाइएको थियो । त्यहाँको ढकतराजु अनुगमन टोलीले जफत गरेको छ । 

भारतीय नागरिक जुल्फेकार आलमले सञ्चालन गरेको बलम्बुको मोजमेल सेन्टर बधशालामा कुहिएको र किरा परेको मासु भेटिएपछि आपूर्तिमन्त्री गणेशमान पुनले तत्काल बन्द गरी कारावाही गर्न निर्देशन दिएका छन् । अनुगमन टोलीले २ घण्टाभित्र सरसफाइ गर्न अल्टिमेटम दिएको छ भने ३ दिनभित्र आपूर्ति विभाग उपस्थित हुन निर्देशन दिइएको छ । 

यसैगरी, कालिमाटीको ह्युमत सामुदायिक बधशालामा समेत फोहोर नै फोहोर फेला परेको छ । अनुगमन टोली पुग्दा बधशालाका कर्मचारीहरु हतार हतार बधशाला सफा गर्न तल्लिन थिए । यहाँ पनि अत्यधिक दुर्गन्ध  र फोहोर भेटियो । स्थानिय स्वायत्त शासन ऐन अनुसार बस्तीको बीचमा यस्तो बधशाला बनाउन पाइन्न । तर यहाँ कसरी बधशाला संचालन भयो मन्त्री स्वयम् पनि चकित देखिन्थे । स्थानीय बधशालाबाट फैलिएको दुर्गन्धले बालबालिकाहरु बिरामी पर्ने गरेको भन्दै मन्त्रीसमक्ष गुनासो गर्न आएका थिए । 

अनुगमनमा संलग्न सरकारी अधिकारीहरुले व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेका पाइएको बताए । 

यसैगरी, अनुगमन टोलीले कालिमाटीका केही माछा पसलमा गरेको अनुगमनमा सरसफाईको कमी पाइनुको साथै त्यहाँ प्रयोग भएका ढकतराजू समेत गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित नगरिएको पाइएको थियो । उपभोक्ता हित संरक्षण ऐन अनुसार शुक्रबार अनुगमन गरिएका कुनै पनि मासु तथा माछा पसलहरुमा उपभोक्ताले देख्ने गरी मूल्यसूचि राखिएको थिएन । 

मन्त्री नेतृत्वको टोलीले शुक्रबार गरेको अनुगमनको क्रममा मासु पसलमा देखिएका हेर्दै घिनलाग्ने दृश्यहरु हेर्न तलको फोटो क्लिक गर्नुहोस् ।