Chatara Road
इटहरी। दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान—चतरा सडक निर्माण अगाडि नवढ्दा बराहक्षेत्र गाविस बयरवनवासी आक्रोशित बनिरहेका छन् ।
सरकारले विसं २०७१ मा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो । तर सडक विभागका कर्मचारी समयमा सरुवा भएर नआउनु, मधेस आन्दोलन एवम् नाकाबन्दी आदिको कारणले सडक निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका अधिकारीहरुले दावी गर्दै आएका छन्।
चतरादेखि धरानसम्मको १७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि छ करोड ४२ लाख रुपैयाँको निर्माणको ठेक्का पाएका हजबुल अन्सारीले ठेक्का लिएपछि भएको असहज परिस्थितिकै कारणले सडक निर्माणमा ढिलाइ भएको बताएका छन्। धरान—चतराको सडकमा पर्ने पटनाली, बगुवा, सर्दु खोलालगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताए।
धरानदेखि चतरासम्मको १७ किलोमिटर सडक पञ्चायतकालीन समयमा नै कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख छ। तर त्यहाँ आजका दिनसम्म पनि कुनै पनि स्थानमा कालोपत्रे भएको छैन।
सडक निर्माणको ठेक्का लिएका ठेकेदार अन्सारीले भने ६० प्रतिशत काम भइसकेको र आगामी फागुन मसान्तसम्ममा निर्माण कार्य पूरा हुने बताउँदै आएका छन्। तर उनले सडक कालोपत्रेका लागि बिच्छ्याएको बिटुमिन अहिले नै सडकबाट उप्किएर सडक धुलाम्मे बनिसकेकाले यो सडकको टिकाउपन झनै शङ्कास्पद बनिरहेको स्थानीयवासीले गुनासो गरिरहेको पाइएको छ ।
धरान—चतरा सडक कालोपत्रे बनेपनि बर्खाको समयमा भने चतरावासीले सर्दु, पटनाली, बगुवा खोलामा बाढी आउँदा धरानसम्मको यात्रा सहजरुपमा गर्न भने नपाउने भएका छन् । खोलाक्षेत्रमा सडक नबनेपछि खहरेमा बाढी आउँदा त्यो सडक सञ्चालनमा आउन सक्दैन । बर्खाको समयमा चतरावासीले इटहरी भएर नै घुमेर धरान जानुपर्ने बाध्यात्मक अवस्था रहने देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago