काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औं योजनाका लागि सुझाव लिन पहिलो चरणमा चार वटा प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।

आयोगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ ।

आयोग सदस्य डा फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने छ ।उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूरपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ ।

‘१६औं योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गर्यौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’

आयोगले मधेश प्रदेशमा डा जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने बागमतीमा डा प्रभु बुढाथोकी, गण्डकीमा डा फुयाँल र सुदूरपश्चिम प्रदेशमा डा अनिता शाह ढुंगानालाई पठाएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण हाल सुझाव संकलन स्थगित गरिएको छ ।