काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञहरुसँग सुझाव लिएको छ। 

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ देखि कार्यान्वयनमा आउने गरी १६ औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ। १६ औँ योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्ना पूर्व उपाध्यक्ष तथा विज्ञहरुसँग सुझाव लिएको हो। 

कार्यक्रममा अर्थमन्त्रीसमेत भइसकेका आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, पूर्वउपाध्यक्षहरु डा. पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा थिए। आयोगका पूर्वसदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा. गोविन्द नेपाल साथै त्रिभुवन विश्व विद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारीलगायत उपस्थित थिए। 

आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका साथ १६औँ योजनाको तयारी सुरु गरेको जानकारी दिए। अर्थतन्त्रमा रहेका चुनौतीहरुको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए। 

आयोगले बुधबार पहिलो चरणको छलफल गरेको हो। यो छलफल शुक्रबारसम्म जारी रहनेछ। 

आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महंवकाक्षी लक्ष्य राख्न नहुने बताए। अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ। यदि ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने उनले बताए। 

पूर्वअर्थमन्त्री खतिवडाले सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरे। खतिवडाले विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको बताए। राष्ट्रिय गौरवका आयोजना भनिएका आयोजनाहरु पनि गौरव गर्न लायक नरहेको उनले बताए। ‘हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छौं। गेम चेन्जर भनेका छौं, यो भनेका छौं अनि त्यो भनेका छौं। विभिन्न किसिमले गरेका छौं अनि कम्प्लिकेटेट बनाई राखेका छौं’, उनले भने ‘मेरो अनुरोध के हो भने हामी पनि सरकारमा बसीसकेका छौ। सबैभन्दा बढी गाली खाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो। मेरो अनुरोधमा चाहिँ त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुहोस् र अरुलाई सबैलाई छुट दिनुहोस् र यिनीहरुलाई प्राथमिकता दिनुहोस् र कार्यान्वयन गर्नुहोस्।’

पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय किन लगियो भनेर प्रश्न गरे। उनले तथ्यांक् विभाग आयोग माताहत नै भएको भए हुने उत्तम हुने बताए। लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै उनले आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपर्युक्त हुने उनले बताए। कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनाहरुदलाई योजनाले समेट्नु पर्ने बताए। 

पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताए। पूर्वगभर्नरसमेत रहेका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले राष्ट्रिय योजनालार्य आयोगलाई वलियो बनाउनुपर्ने बताए। उनले अबका योजनाहरु उत्पादनमूखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यहीँ बालीमात्रै उत्पादन गर्ने नीति लिन् पर्ने बताए। ‘बाली उत्पादन हुन नसक्ने ठाउँहरुमा पशुपन्छी पालन वा अन्य के विकल्प हुन्छ, त्यसबारे सोच्नुपर्छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा पनि निकै ठूलो सुधारको आवश्यकता रहेको छ।’ 

पूर्वउपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेल, पूर्व सदस्यहरु डा. जनकराज शाह, डा. गोविन्द नेपालले पनि योजना बनाउँदा भद्दा बनाउन नहुने बताए। 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा. कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेको भन्दै भएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन्। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले योजना आयोगले प्रकाशन गर्ने किताबहरु लोकसेवा पास गर्नका लागि अध्इयन गर्नमात्रै उपयोगी रहेको भन्दै यसलाई उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन जोड दिनुपर्ने बताए।