काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ। 

भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरुअनुसारका कार्यक्रमहरुमध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुतगतिमा अगाडि बढाउने समझदारी भएको छ। त्यसक्रममा नेपाल र चीन सरकारका तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्वन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। एनडीआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन्। 

पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन)का रुपमा रहेको यस चिनियाँ संस्था हाल (एनडिआरसी) को रुपमा चिनिन्छ। यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ। 

चिनियाँ विकास उपमन्त्रीसँग छलफल 

त्यसैगरी आयोगका उपाध्यक्ष श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उपमन्त्री डेङ बोगिङबीच द्धिपक्षिय भेटवार्ता समेत भएको छ। 

चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर सेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाका रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी कामहरु हेर्ने निकाय हो।

उक्त भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्वन्धमा छलफल भएको थियो। यसका साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टिभिटीसँग सम्बन्धित आयोजनाहरुलाई छिटोअघि बढाउनका लागि दुवैतर्फवाट गर्नुपर्ने पुर्वतयारीका कार्यहरु बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो।

यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारीहरु र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चिन सरकारका उच्च अधिकारीहरु सहभागी थिए। मंगलबार आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग भेटघाट गरी सोही दिन राति स्वदेश फर्किने कार्यक्रम छ।