काठमाण्डौ । आँखाबाट आँसु झर्नु सामान्य कुरा हो । आँखाबाट रगत बग्नु भनेको चाहिँ केही समस्या हुन सक्छ । तर आँसुका रुपमा ‘क्रिस्टल’ धातु आँखाबाट झर्छ भन्दा सायद अचम्म लाग्न सक्छ।
सोभियत रुसबाट अलग भएर बनेको देश अर्मेनियाको स्पेन्डरियन गाउँमा बसोबास गर्ने २२ वर्षीया काजेरियनसँगै यस्तै भइरहेको छ । उनको आँखाबाट दैनिक ५० टुक्रा क्रिस्टल धातु आँसु झरेजसरी नै निस्कने गरेको छ ।
काजेरियनमा देखिएको यस्तो अनौठो गतिविधिबाट स्वयं चिकित्सकहरु पनि हैरान छन् । उनीहरु अनुसन्धान गर्दैछन् कि आखिर आँखाबाट आँसुका रुपमा क्रिस्टेल कसरी निस्किरहेको छ ?
एक छोरीकी आमा काजेरियनले आँखाबाट दैनिक क्रिस्टेल झर्न थालेपछि उनको जिन्दगी अप्ठेरोमा परेको बताइन् । ‘हामी गरिब छौँ, यो रोग हो कि के हो ? रोग हो भने उपचार गर्ने पैसा पनि छैन’, उनी भन्छिन् ।
काजेरियनका अनुसार केही महिनाअघि उनी दाँतको उपचार गर्न चिकित्सककोमा गएकी थिइन् । त्यही बेला उनलाई आँखामा धुलो पसेकोजस्तो भान भएको थियो । उनले तत्कालै आँखा पुस्दा क्रिस्टल झरिरहेको थियो । ‘म तत्कालै आँखाको चिकित्सक कहाँ पुगेँ’, उनी भन्छिन्, ‘चिकित्सकले औषधि दिए, केही दिन त राहात भयो तर अहिले दिनहुँ आँखाबाट ५० वटासम्म क्रिस्टलका टुक्राहरु झर्न थालेका छन् । यसले मेरो आँखामा निकै बिझाउँछ । मेरो अवस्था देखेर चिकित्सक पनि हैरान छन् ।’
अहिले त चिकित्सकहरुले पनि आफ्नो आँखा जाँच्न आनाकानी गर्ने गरेको काजेरियनको भनाइ छ । ‘उनीहरु रोग ठम्याउन सकेका छैनन्, अपरेसन पनि गर्न मान्दैनन्’, उनी भन्छिन् ।
काजेरियनका आफन्त स्वेटलान अवेजियनले एकपटक आफूहरु फर्ममा काम गरिरहेकैबेला काजेरियनको आँखाबाट आँसुका रुपमा एकाएक क्रिस्टल झर्न थालेपछि अचम्ममा परेको बताए । ‘हामीले काजेरियनलाई तत्कालै चिकित्सककोमा लग्यौँ तर उनीहरु आफैँ हैरान भए’, उनी भन्छन्, ‘यस्तो केस उनीहरुले पनि पहिलोपटक देखेका रहेछन् । उनीहरुले हामीप्रति अविश्वास पनि देखाए ।’
अर्मेनियाका उपस्वास्थ्यमन्त्री ओगेन्स अरुटुयनले काजेरियनमा देखिएको अनौठो रोगको अध्ययन गर्ने काम भइरहेको बताए । ‘हामी यस विषयमा गम्भीर छौँ, कोसिस गरिरहेका छौँ कि आखिर काजेरियनमा देखिएको यो अनौठो रोग हो के ?’
रसियन नेत्रविशेषज्ञ तात्याना शिलोवा काजेरियनमा देखिएको समस्यालाई असाधारण बताउँछन् । उनले यसको प्याथोलोजी जाँच गर्न पनि मुस्किल रहेको बताए। ‘किनकि आँसुमा प्रोटिन र केही सूक्ष्म तत्व हुन्छन्’, उनले भने, ‘यदि यसमा नूनको मात्र बढ्यो भने यो क्रिस्टलमा परिवर्तन हुन सक्छ । आँसुमा प्रोटिनको अधिकताका कारण पनि यस्तो हुन सक्छ ।’
शिलवा यो निकै भयावह स्थिति रहेको बताउँछन् । ‘तुरुन्तै यसको उचित जाँच गरी समस्या समाधान गर्नतिर लाग्नुपर्छ’, उनी भन्छन् । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago