काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ।

बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत तिहारमा पैसा पठाउँदा रु. १०० क्यासब्याक प्राप्त गर्नेछन्। बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीनपटक गरी रु. २ हजारभन्दा बढी रकम मोबाइल बैंकिङमार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

यसरी पैसा पठाउँदा विवरणमा भने ‘सिटिजन्स तिहार’ भनी खुलाउनपर्ने छ। तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदीबहिनीलाई भाइटीकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। यसका साथै तिहारलाई लक्षित गरी बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। कोरोना महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनि गरेको छ।