काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारबाट प्रस्तुत बजेटलाई ‘चुनावी प्रचार’ को संज्ञा दिएका छन्।

आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलमा आफ्ना धारणा राख्दै पूर्वअर्थमन्त्री पौडेलले आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको बताए। ‘त्यसैले यो चुनावी सरकारले ल्याएको यो बजेट नभएर चुनावी प्रचारजस्तो छ, मतदाता रिजाउने र भोट बटुल्ने उद्देश्यले ल्याइएको छ’, उनले भने, ‘यसले बजेटको मर्ममा प्रहार गरेको छ।’

पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताए। ‘आगामी आवमा ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुने आधार नै छैन’, उनले भने। 

पौडेलले वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको भन्दै सरकारको तीव्र आलोचना पनि गरे। ‘आगामी आवमा परिस्थिति अझ जटिल बन्न सक्छ’, उनले भने, ‘तर, सरकारको बजेट कल्पनामा विचरण गरिएको छ। साधारण खर्च बढाइएको छ। पुँजीगत खर्च घटाइएको छ। बजेटको मुख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ।’

निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै पौडेलले आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो भन्ने बजेटमा स्पष्ट नभएको बताए। बजेटका प्राथमिकता र उद्देश्य शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको पौडेलले बताए। ‘यो बजेट निबन्धजस्तो मात्र भयो’, उनले भने। 

पौडेलले वित्त क्षमताभन्दा बढी खर्च भएको र स्रोत जुट्ने विश्वसनीय आधार बजेटमा नपाएको बताए। आगामी आवमा विकास खर्चको वाषिक अनुमानअनुरुप स्रोत परिचालन हुन नसक्ने उनको दाबी थियो।