काठमाण्डौ । यो वर्षको बजेट ९१ प्रतिशतमात्रै खर्च हुने प्रक्षेपण गरिएको छ। 

बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले यो वर्षमा बजेटको ९१.१९ प्रतिशत खर्च हुने अनुमान गरेको हो। यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँबराबरको बजेट ल्याइएको थियो। त्यसमध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ।

चालुतर्फ ९६.४० प्रतिशत, पुँजीगततर्फ ८०.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत खर्च हुने मन्त्रालयको अनुमान छ। चालु आर्थिक वर्षमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९ खर्ब १५ अर्ब ७८ करोड खर्च हुने अनुमान गरिएको छ। 

यसैगरी ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत बजेटमध्ये २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ तथा १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय खर्चमध्ये १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान मन्त्रालयको छ। 

निराशाजनक देखिएको पुँजीगत खर्चको अवस्थालाई बढाउन अर्थ मन्त्रालयले काम सम्पन्न भएका आयोजनाको शीघ्र भुक्तानी गर्ने तथा अघिल्लो वर्ष कोभिडका कारण सम्पन्न नभई यो वर्ष सम्पन्न भएका आयोजनाको भुक्तानीलाई प्राथमिकता दिने जनाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायताबाट सञ्चालन भएका आयोजनाको कार्यान्वयन अवस्थाको छिट्टै अनुगमन र समीक्षा गरी कार्यान्वयनमा देखिएका जटिलतालाई व्यवस्थापन गर्ने योजना मन्त्रालयले बनाएको छ। 

यस्तै, अर्थ मन्त्रालयले राजश्व तथा आन्तरिक ऋणबापत १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँ, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपैयाँ तथा वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रुपैयाँ स्रोत संकलन हुने अनुमान गरेको छ। चालु वर्षको बजेटले राजश्व र आन्तरिक ऋणबाट ११ खर्ब १४ अर्ब ६२ करोड, वैदेशिक अनुदान ६० अर्ब ५२ करोड र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य लिइएको थियो। 

राजश्व संकलनको वैकल्पिक योजना बनाई बाँकी अवधिको राजश्व संकलनको लक्ष्य हासिल गर्ने गरी राजश्व प्रशासनलाई परिचालन गर्ने, वैदेशिक ऋण र अनुदानको शोधभर्ना समयमा प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवार बनाइनेसमेत कार्यदिशा लिइने मन्त्रालयले जनाएको छ। 

बजेटको समीक्षा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष कोरोना खोप ल्याउने र निर्वाचनका लागि लाग्ने खर्चसमेत अहिलेकै बजेटबाट व्यवस्था मिलाइने बताए। उनले निर्वाचन आयोगले मागेको ७ अर्बका लागि व्यवस्था भइसकेको जानकारी गराए।