काठमाण्डौ । दुई दिन सार्वजनिक बिदा परेकोले यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भयो। जसमा २ दिन बजार ओरालो लाग्यो भने अन्तिम कारोबार दिन बिहीबार उकालो लाग्यो।

पछिल्लो समय बजारमा जलविद्युत, वित्त र विकास बैंक सेक्टरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यी सेक्टरमा साताको अन्तिम दिनको कारोबार पनि उत्तिकै चमक देखिएको छ। 

केही समययता विकास बैंकहरुको सेयरभाउ निकै उकालो लागेको छ। अहिले नेप्सेमा सूचीकृतमध्ये १४ वटा सेयरभाउ ५०० रुपैयाँ माथि रहेको छ भने एउटाको मात्रै ५०० रुपैयाँ तल रहेको छ। यीमध्ये पनि ३ वटाको सेयरभाउ १ हजार रुपैयाँ माथि पुगेका छन्। 

यो साता सेयर बजारमा ३ वटा विकास बैंकको सेयरभाउमात्रै बढेको छ भने बाँकी ११ वटाको घटेको छ। नारायणी र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरु यो साता मालामाल भए। नारायणीको सेयरमूल्य यो सातामात्रै ११७ रुपैयाँले बढेको छ। गत साता बिहीबार प्रतिकित्ता ९१७ रुपैयाँ रहेको यो बैंकको सेयरभाउ बढेर १ हजार ३४ पुगेको छ। 

यसैगरी कर्पोरेटको पनि सेयरभाउ पनि यो साता ८२.४ रुपैयाँले बढेर १ हजार ८२.४ रुपैयाँ पुगेको छ। गत साता बिहीबार यो बैंकको प्रतिकित्ता १ हजार रुपैयाँ थियो।

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि यो साता २० रुपैयाँले बढेको प्रतिकित्ता १ हजार ११३ रुपैयाँ पुगेको छ। गत साता बिहीबार यो बैंकको सेयरमूल्य १ हजार ९३ रुपैयाँ रहेको थियो। 

यो साता सबैभन्दा धेरै कामना सेवा विकास बैंकको घटेको देखिन्छ। यो बैंकको सेयरमूल्य यो साता ३२ रुपैयाँले घटेर ७७६ रुपैयाँमा झरेको छ। गत साता बिहीबार यो बैंकको प्रतिकित्ता ८०८ रुपैयाँ थियो।

यसैगरी लुम्बिनी र मुक्तिनाथको सेयरभाउ पनि यो साता क्रमशः २९ र २८ रुपैयाँ घटेको छ। गत साता बिहीबार ७२९ रुपैयाँ रहेको लुम्बिनीको सेयरभाउ घटेर ७०० रुपैयाँमा झरेको छ भने मुक्तिनाथको ८०९ रुपैयाँबाट ७८१ रुपैयाँमा ओर्लेको छ। 

गरिमा र शाइन रेसुंगाको सेयरभाउ पनि यो साता समान २० रुपैयाँले घटेको छ। 

तल तालिकामा हेर्नुहोस्–