– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा खासै ठूलो उतारचढाव भएन। बजारमा सामान्य अंकको मात्रै घटबढ भयो।
साताका ५ कारोबार दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो। यो साताभरि बजारमा लगभग ३८ अंकले गिरावट आएको छ। अघिल्लो साता २७६९ विन्दुमा बन्द भएको बजार यो साता २७३१ विन्दुमा बन्द भएको छ।
यो साता कुल २० अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता झन्डै २८ अर्ब रुपैयाँ कारोबार भएको थियो।
गत साताको तुलनामा यो साता सेयर भोलुम र कारोबार दुवैमा गिरावट आएको छ। अघिल्लो साताभन्दा यो साता ८ अर्ब रुपैयाँले कारोबारमा गिरावट आएको छ। यसले धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।
मौद्रिक नीतिको समीक्षा
सेयर बजारमा धेरै लगानीकर्ताले प्रतीक्षा गरिरहेका चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा राष्ट्र बैंकले यही साता हुने बताउँदै आएको छ। ‘सम्भवतः भोलि शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक छ’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘यदि भोलि समीक्षा नआएमा आगामी साता पक्कै आउँछ।’
राष्ट्र बैंक स्रोतका अनुसार अहिले मौद्रिक नीतिको समीक्षा विषयमा चरणबद्ध रुपमा छलफल चलिरहेको छ। ‘केही नीतिहरुका विकल्पमा छलफल भइरहेको छ’, स्रोतले भन्यो, ‘सीडी रेसियो फेरबदल हुने सम्भावना कम छ।’
मौद्रिक नीतिको समीक्षा के–कस्तो आउला भनेर लगानीकर्ता चासोपूर्वक कुरेर बसेको जस्तो देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेजस्तो आएमा बजार केही सुधार हुने र अन्यथा केही अंकको गिरावट पनि आउन सक्ने देखिन्छ। जुन अल्पकालका लागिमात्रै हुन सक्छ।
सेबोन र नेप्सेमा नियुक्ति
लामो समयदेखि लगानीकर्ताले अपेक्षा गरेको अर्को विषय भनेको नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पनि हो। यी दुवै निकायमा नेतृत्वको नियुक्तिमा पनि केही ढिला हुने देखिएको छ। सेबोनमा अध्यक्ष नियुक्तिका लागि पुनः छनोट तथा सिफारिस समिति गठन गर्ने सरकारले तयारी गरेको छ। योसँगै आपेक्षा गरिएजस्तो छिटो सेबोनमा अध्यक्षको नियुक्तिको सम्भावना पनि कमै देखिएको छ। नेप्सेमा पनि अहिले नै खास प्रगति भएको देखिँदैन।
लगानीकर्ताको मनोविज्ञान
अहिले सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान सामान्य नै देखिन्छ। लगानीकर्ता धेरै डराएको अवस्थामा पनि नरहेको र आक्रामक पनि नभएकोले बजार स्थिर देखिन्छ। तरलताको चाप र ब्याजदर बढ्न सक्ने सम्भावनाले गर्दा आगामी साता पनि बजार साइडवेजमा नै जान सक्ने देखिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19