काठमाण्डौ । मंसिर महिनाको सुरुआतबाटै सेयर बजार ओरालो लागिरहेको छ। खासगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा आशा गरेअनुरुप कुनै परिमार्जन नभएपछि सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएका हुन्। 

नेपालको सेयर बजारको २८ वर्षको इतिहासमा गत सालमात्रै यस्तो समय थियो कि बजारमा भन्ने गरिएको अफ सिजनमा पनि सेयर बजारमा बढोत्तरी आएको थियो। गत साल कोभिड–१९ को प्रभावका कारण सबैतिर लकडाउन भयो। फलस्वरुप सबै क्षेत्रका व्यापारीदेखि विद्यार्थीसम्म सेयर बजारमा आकर्षण बढ्यो। जसका कारण बजारमा चमक देखियो। 

पुँजीबजारमा अनलाइन प्रविधिमा भएको फड्कोसँगै सहज तरिकाले दोस्रो बजारमा विकास भएको कारोबार गर्न सकिने टीएमएसको सुविधा हो। अर्को भनेको मेरो सेयरमा सीडीएससीले गरेको सुधार र विकाससँगै प्राथमिक बाजारमा लगानीकर्ताको आकर्षण अचाक्ली बढ्यो। 

यो साता ४ दिन बजार घट्यो भने एक दिनमात्र बढ्यो। अघिल्लो बिहीबार बजार २५८६ को विन्दुमा बन्द भएको बजार यो साता २४५० मा बन्दा भएको छ। यो हिसाबले बजार १३६ अंकले ओरालो लागेको छ। 

यो साता कारोबार रकम पनि घटेको देखिन्छ। अघिल्लो  साता १९ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यो साता १७ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। जुन अघिल्लो साताको तुलनामा २ अर्ब रुपैयाँले कम हो। 

अब के होला ? 

पुँजीबजारमा सेयरको मूल्य लागनीकर्ताको मनोविज्ञानले  मुख्य काम गर्छ। नेपालको सेयर बजार र ब्याजदरको सम्बन्ध जहिले पनि विपरीत हुन्छ। जति–जति तरलतामा चाप पर्छ, त्यति–त्यति ब्याजदर बढ्ने र सेयर बजारमा गिरावट आउने गर्छ। 

विश्लेषकहरुले अहिले सेयर बजारमा आएको गिरावटलाई अल्पकालीन नै भएको बताइरहेका छन्। योसँगै बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएको र रेमिट्यान्स पनि बढेकोले तरलता सहज हुँदै गएकोले आगामी दिनमा ब्याजदरमा केही सहज हुन सक्ने सम्भावना पनि देखिन्छ। यसकारण पनि आगामी दिनहरुमा केही समय बजार साइडवेज चलेर माघ महिनाबाट बजारले पुनः नयाँ गन्तव्य लिन सक्ने सम्भावना प्रबल देखिन्छ।