– अनन्त्य सुन्दर
काठमाण्डौ । विगत केही सातादेखि नेपाली सेयर बजार घट्दो क्रममा छ।
बजार घटेसँगै कारोबार रकम पनि २–३ अर्बमा खुम्चिएको छ। बजारमा कारोबार रकममा भारी गिरावट आएसँगै लगानीकर्ताको सम्पत्तिमा मात्र नभएर ब्रोकरका आम्दानी पनि घटेको गुनासो गर्दै आएका छन्। त्यसका साथै नेपाली सेयर बजार अहिले सुस्ताउनुका साथै उत्साहजनक नभएको देखिन्छ।
गत दुई साताको नेप्से परिसूचकमा भएको उतारचढावलाई हेर्दा बजार ५३.८६ अंकले बढ्दै गर्दा १४८.४१ अंकले घटेको छ। गत बिहीबार मात्र बजार ५२.३१ अंकले बढेको हो। निरन्तर घट्दो क्रममा रहेको बजार एकाएक ५२ अंकले बढ्दा लगानीकर्तामा बजार अब फेरि बढ्ने हो कि बजारको बढाइ १ दिनको मात्र थियो ? बिहीबार बजार बढ्नुको कारण के हो? बजार बढ्न सक्ने आधारहरु के–के छन् ? लगायतका प्रश्नले लगानीकर्तामा अन्यौलता छाएको देखिन्छ।
गत साताको बजार लगानीकर्ताको मनोविज्ञानका साथै बजारमा भएको कारोबार रकम हेर्दा यो साता बजार बढ्ने प्रबल सम्भावना देखिन्छ। यो साता ४ दिनमात्र सेयर कारोबार हुनेछ। बिहीबार होली भएकाले उक्त दिन बजार बन्द रहनेछ।
यो साता बजार सकारात्मक रहनसक्ने ४ आधार यस्ता छन्–
तरलता
नेपाली अर्थतन्त्रमा लामो समयदेखि तरलता चाप उच्च रहेको छ। तरलता चाप भएसँगै लगानीकर्ता, व्यवसायी, बैंकर सबै मर्कामा परेका छन्। तरलता संकटकै कारण अर्थ मन्त्रालयका साथै राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ, आयातमा कडाइ तथा प्रतिबन्ध, घरजग्गा कारोबारमा कडाइ, सुन आयातमा कडाइलगायतका कदम चाल्नु परेको अवस्था छ।
स्थानीय चुनाव वैशाख ३० मा हुने भनिएसँगै बजारमा सरकार साथै स्थानीय उम्मेदवारहरुबाट भएको चुनावी खर्च बैंकिङ प्रणालीमा आउने भएकाले तरलता केही हदसम्म सहज हुने जानकारहरु बताउँछन्। अहिले अधिकांश नागरिक सेयर बजारमा संलग्न भएकाले उक्त पैसा बैंकिङ प्रणालीबाट सेयर बजारमा आउने प्रबल सम्भावना रहेको छ।
त्यसका साथै गत बिहीबार अर्थमन्त्री जनार्दन शर्माले कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू दुवै चिन्तित हुनुकोसाथै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको समेत बताएका थिए। अर्थमन्त्रीले बारम्बार पुँजीगत खर्च गर्ने निर्देशन दिएसँगै तरलता केही सहज हुने अवश्य देखिन्छ। मन्त्रालयहरुबाट समयमै पुँजीगत खर्च गरेको खण्डमा तरलता छिट्टै नै सहज हुने वित्तीय जानकारहरुले बताउँदै आएका छन्।
ब्याजदर
फागुन महिनामा बसेको नेपाल बैंकर्स संघ (एनबीए) को बसेको बैठकले ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित वित्तीय संस्थाहरुको निर्णय भएसँगै वाणिज्य बैंकहरुले ब्याजदर बढाएका थिए। नेपाल राष्ट्र बैंकको अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतले बढाउन पाउने निर्देशनलाई पालना गर्दै बैंकहरु ब्याजदर बढाएका थिए।
फागुनमा मुद्दति निक्षेपमा १०.०५ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले निक्षेपको ब्याज बढाएर ११.०३ प्रतिशतसम्म कायम गरेका थिए। त्यसका साथै बचत खातामा ५.०५ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले कम्तीमा ६.०३ प्रतिशत ब्याज दिन थालेका छन्। तर, चैत्र महिनामा बैंक तथा वित्तीय संस्थाहरुको ब्याज नबढाउने भनेर आपसी समझदारी भएको एक बैंकका सीईओले बताए। ती सीईओले भने, ‘बैंकर्स संघबाट आधिकारिक निर्णय भने आएको छैन। चुनाव नजिकिँदै गर्दा राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट ब्याज नबढाउन भनी दबाब आउने सम्भावना पनि उच्च छ। अहिले अधिकांश बैंकका सीईओको पनि ब्याजदर नबढाउने धारणा राख्दै आएका छन्।’ हामीले पुस र माघमा आपसमा ‘भद्र सहमति’ गरेर निक्षेपको ब्याजदर स्थिर राखेको नै हो।’
‘अहिले बढ्दो ब्याजदरले सबैभन्दा बढी मर्कामा व्यवसायीहरु परेका छन्’, ती सीईओले भने, ‘व्यवसायीहरुको छाता संगठनले ब्याजदर बढेकाले आफूहरु मर्कामा परेको बताउँदै आएका पनि छन्। स्थानीय चुनाव नजिकिँदैछ। त्यसैले हामीले ब्याजदर बढाएको खण्डमा बढ्दो ब्याजदरले रुष्ट भएका व्यवसायीहरुलाई मनाउन भए पनि ब्याजदर स्थिर गर्न अर्थमन्त्रीबाट दबाब आउन सक्ने प्रबल सम्भावना छ।’
प्राविधिक विश्लेषण
गत साताको बिहीबार अन्तिम कारोबार हुँदा नेप्से परिसूचक २५६६.९० अंकमा बजार बन्द भएको थियो। उक्त दिन २.७ अर्बको कारोबार हुँदा बजार ५२.३१ अंकले बढेको थियो।
गत साताको क्यान्डल–स्टिक चार्ट हेर्दा बुधबार र बिहीबारको बजारमा ‘बुलिस इन्गल्फिङ क्यान्डल’ बनेको थियो। प्राविधिक विश्लेषकहरु बुलिस इन्गल्फिङ क्यान्डलले बजारले बाटो परिवर्तन गर्न लागेको संकेत दिने गरेको बताउँछन्। त्यसैले लामो समयदेखि घट्दो क्रममा रहेको बजारले ‘यू–टर्न’ लिएर बढ्ने सम्भावना प्रबल रहेको छ।
लगानीकर्ताहरुको मनोविज्ञान
लामो समयसम्म घट्दो क्रममा रहेको बजार गत बिहीबार ५२.३२ अंकले बढेको छ। बजार बढेसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। अहिले लगानीकर्तासँग थप लगानी गर्न बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान नगरेको अवस्था छ। त्यसैले सरकारले चुनावी खर्च गर्ने, तरलता सहज हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्नेमा लगानीकर्ता ढुक्क देखिन्छन्। जसका कारण बजारमा थप लगानी गर्ने वातावरण सिर्जना हुनेछ।
चैत महिनामा ब्याजदर स्थिर राख्ने बैंक तथा वित्तीय संस्थाहरुको निर्णयले पनि लगानीकर्ता बजारप्रति थप सकारात्मक हुने देखिन्छ। त्यसका साथै अहिले बोर्डका नवनियुक्त अध्यक्ष, नेप्सेका सीइएओका साथै स्वयं अर्थमन्त्री अहिले पुँजी बजारप्रति सकारात्मक रहेको अवस्था छ।
अर्थमन्त्रीको बजार सुधार र विस्तारका लागि ११ बुँदे निर्देशन, बोर्ड अध्यक्षको ब्रोकर कमिसन घटाउने, ब्रोकर लाइसेन्स वितरण गर्नेजस्ता अभिव्यक्तिले लगानीकर्ता बजारप्रति थप आशावादी र सकारात्मक देखिन्छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago