-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजार ५ दिन नै कारोबार भयो । ५ दिनमा बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । साप्ताहिक रुपमा भने बजार ११.३१ अंकले घट्यो ।
यो साता बजारमा जम्मा ५ अर्ब ४० करोडको मात्रै कारोबार भयो । यो भनेको बुल बजारमा एकै दिनको कारोबार भन्दा पनि निकै कम हो । यही साता सेयर बजारमा २१ महिनाकै न्यून कारोबार, जम्मा ८८ करोडको नयाँ रेकर्ड पनि बन्यो ।
यसरी बजार निरन्तर घट्नु पछाडि नेपाल राष्ट्रबैंकले सेयर बजारप्रति लिएको निर्मम नीति, चर्कदै गएको तरलता संकट र बढ्दै गएको बैंक ब्याजदर मुख्य कारणको रुपमा देखिए ।
नेपाल राष्ट्रबैंकको नेतृत्व पूँजीबजारप्रति अनुदार र निर्मम देखिए पनि सरकार भने सकारात्मक बन्दै गएको देखिएको छ ।
यो साता सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पुँजीबजारलाई उत्पादन क्षेत्रसँग जोडेपछि बजारमा केही सकारात्मक माहौल बन्न खोजेको थियो । साताको अन्तिम कारोबार दिन भने राष्ट्रबैंकको मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले आशा गरेअनुसार सेयर कर्जामा ४-१२ करोडको क्याप नहटेपछि बजार घट्यो । यो दिन १५.८२ अंकले घटी बजार बन्द भयो । लगानीकर्तालाई यो साताले खासै उत्साही बनाउन सकेन । बरु लगानीकर्ताको आशा र झिनो विश्वासमाथि राष्ट्रबैंकको मौद्रिक नीतिको समीक्षाले चिसो पानी खन्याइदियो ।
आगामी साता के होला ?
यो साता सामान्य अंकले गिरावट आएको बजारमा आगामी साता पनि के होला ? भन्न धेरै लगानीकर्ताको जिज्ञासा रहेको छ ।
बजार जानकार सरोज भट्टाराईले आगामी साता पनि बजार साइडवेजमा नै जानसक्ने बताए । ‘मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताहरुमा केही निराशा छाएको देखियो । ब्याजदर अझै बढ्नसक्ने देखेर आज बजार घट्यो । गभर्नरले सरकारलाई सहयोग गरेजस्तो देखिएन ।’ उनले भने–‘तर आउने साता बजेट कस्तो आउला, त्यसमा पनि बजारको आगामी यात्रा निर्भर हुन्छ । अहिले नै बजार धेरै बढ्ने आधार पनि देखिदैन र धेरै तल जाने अबस्था पनि देखिदैन । आजको टर्नआभेरले त्यही देखाउँछ ।’
अब बजार धेरै नघट्ने भएकोले होल्ड नै गर्न उपयुक्त हुने भट्टराइको बुझाई छ । यो समय भनेको ट्रेड गर्नुभन्दा पनि राम्रा कम्पनीमा लगानी गरेर बस्न उपयुक्त हुने भट्टराई दाबी गर्छन् ।
उनले लगानीकर्तालाई नेप्से परिसूचकभन्दा पनि कम्पनीलाई हेरेर लगानीको निर्णय लिन सुझाए ।
अर्का बजार जानकार प्रेम ओली पनि आगामी साताको सेयर बजार आउनै लागेको बजेटमा भर पर्ने बताउँछन् । सरकारले सम्बन्धित निकायले दिएको सुझाब बजेटमा सम्बोधन गर्छ भन्ने कुरा लगानीकर्ताले आशा गरेको पनि ओलीले बताए । खासगरी बजार जेठपछि बढ्ने नै समय भएकोले आगामी बजारलाई सकारात्मक ढंगले हेर्न सकिने उनको सुझाव छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago