काठमाण्डौ। नेप्से परिसूचक २५०० विन्दुआसपास नै घुमिरहेको छ। दैनिक कारोबार रकमले समेत साथ दिन छाडेको देखिन्छ।

कालान्तरमा बजार बढ्ने र बुलिस ट्रेन्ड रहेको जानकारी हुँदाहुँदै पनि लगानीकर्तामा बजारको विषयमा द्विविधा नै देखिन्छ। बिक्रेताले पनि खुलेर सेयर बिक्री गर्न नसकेको अवस्था र खरिदकर्ताले पनि आत्मविश्वासपूर्वक सेयर खरिद गर्न नसकिरहेकै अवस्था हो।
समग्रमा यो साता बजार साइडवेज जाने देखिएको सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाह बताउँछन्। बजारमा द्विविधामै रहेको उल्लेख गर्दै उनले प्राविधिक रुपमा बजार करेक्टिभ फेजमा सकिन लागेको भए पनि ब्रेकआउट नभएको अवस्था देखिने बताए।

डो ट्रेन्डअनुसार माइनर मुभमेन्ट (डेली चार्ट) मा बुलिस सेटअप भत्काएको छ। ‘बजारले साइडवेजमा प्रवेश गरेको छ’, शाहले भने, ‘ट्रेडका लागि फर्दर (माइनर ट्रेन्ड) बुलिस नै रहे पनि मूल्य लाइनको ट्रेन्ड साइडवेजमा नै रहेको छ।’

क्यान्डिल स्टिक प्याटर्नमा भने बिहीबारको कारोबार बन्द हुँदा नेप्सेले मर्निङ स्टार प्याटर्न बनाएको छ। ‘यसले पुरानो बुलिस ट्रेन्ड नै यथावत रहने जनाउँछ’, शाहले भने, ‘तर नेप्से क्लोजिङ २५३१ माथि बन्द रहे प्याटर्न कन्फर्म भई बजार अपसाइड मुभ बनाउने सम्भावना रहन्छ। बजार २३९१ मुनि बन्द भएमा भने सो मर्निङ स्टार इन्भ्यालिड हुनेछ।’

बोलिंगर ब्यान्डअनुसार यसको लोवर ब्यान्ड सपोर्ट लिइरहेको र अधिकांश समयमा बुलिस ट्रेन्डमा लोवर ब्यान्डमा प्रायः आइसकेपछि बजार माथि नै फर्किने विश्लेषक शाहको दाबी छ। आरएसआई इन्डिकेटर न्युट्रल जोनमा रहेको र यसले ‘नो बाई–नो सेल’ संकेत गरेको उनी बताउँछन्। आरएसआई डेली ६० भन्दा माथि मुुभ भएपछि मात्रै सेयर खरिद गर्न बढी सुरक्षित ठहर्ने उनले सुझाए।
मुभमेन्ट इन्डिकेटर पनि करेक्टिभ सेटअपमा बसिरहेको र बुलिस सेटअपमा प्रवेश गरेपछि बजारमा मुभमेन्ट आउनसक्ने विश्लेषक शाह दाबी गर्छन्। मुमेन्टम इन्डिकेटर अहिले नेगेटिभ रहेको र यो नेगेटिभबाट जिरोभन्दा माथि आएपछि मात्रै सेयर खरिद गर्नु बढी सुरक्षित हुने उनको सुझाव छ। 

यसैगरी मुभिङ एभरेज एनालाइसिसअनुसार अहिले पनि नेप्से बुलिस नै रहेको शाह बताउँछन्। ‘जहाँ २० दिनको औसत मूल्य लाइन ५० दिनको औसत लाइनभन्दा माथि छ’, उनी भन्छन्, ‘५० दिनको औसत मूल्य लाइन २०० दिनको औसत मूल्यभन्दा माथि औसत मूल्य लाइनभन्दा माथि छ।’

भोल्युम एनालाइसिसमा भने दैनिक भोल्युम औसत लाइनभन्दा तल रहेको छ। ‘जसले करेक्सन नै भएको बुझिन्छ’, शाहले भने, ‘यस्तो अवस्थामा खरिद अवसरको रुपमा लिन सके फाइदा हुन्छ।’ 

समग्रमा प्रायः नेप्सेका सबै उपसमूह पनि मुमेन्ट करेक्टिभ रहेको शाहको दाबी छ।