अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रहेका डोनल्ड ट्रम्पले आफूहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै थप महिलाहरु अगाडि आएका छन्।

ट्रम्पले भने आफूविरुद्ध लागेका आरोपहरुलाई निरन्तर रुपमा अस्वीकार गर्दै आएका छन्।

पछिल्लो घटनासंगै ट्रम्पमाथि कम्तीमा १० जना महिलाले यौन दुर्व्यहारको आरोप लगाएका छन्।
 

समर जर्भोसले सन् २००७ मा लस एन्जेलसमा ट्रम्पसँग टिभीमा देखापरेपछि आफूमाथि उनले जबरजस्ती गर्न खोजेको बताएकी छन्।

जर्भोसले, द अप्रेन्टिस भन्ने ट्रम्पको टेलिभिजन कार्यक्रमपछि, उनले कसरी ट्रम्पलाई विभर्ली हिल्स होटलमा भेटेकी थिइन् भन्ने कुरा टेलिभिजन पत्रकारहरु सामू भावुक हुंदै व्याख्या गरिन्।

आफूलाई रिपब्लिकन बताउने जर्भोस, ट्रम्पले त्यतिबेला उनलाई आक्रामक तरिकाले कसरी चुम्बन गरेका थिए र उनको हात समाएर शयनकक्षमा प्रवेश गर्नुअघि उनलाई कसरी अनुचित तरिकाले छोएका थिए भन्ने कुरा बताउँदा पटकपटक भक्कानिइन्।

उनीसँग जबरजस्ती गर्न खोजिरहेपछि उनले ट्रम्पलाई धकेल्ने कोशिस गरेको बताइन्।

जर्भोसले राष्ट्रपतिका प्रत्यासी ट्रम्पलाई एउटा सन्देश दिँदै, त्यतिबेला उनले केवल यौन सम्बन्ध राख्नमात्रै चाहेको आफूले महसुस गरेको र ट्रम्पसम्बन्धी अडियो टेपहरु सुनेपछि र त्यसलाई उनले अस्वीकार गरेपछी आफूलाई उनको बानीबेहोराको बोल्नुपर्छ भन्ने लागेको बताएकी छन्।

मानिसहरुलाई यौन वस्तुको रुपमा हेर्ने अधिकार ट्रम्पलाई नभएको पनि उनले बताइन्।

-BBC