काठमाण्डौ । राजनीतिक अस्थिरता र अन्यौलको भूतसँगै सेयरमा लगानी गर्नेहरु पर्ख र हेरको अवस्थामा पुुगेपछि बिक्री चाप उच्च हुँदा आइतबारदेखि ओरालो लाग्न सुुरु भएको बजारमा सोमबार पनि दोहोरो अंकको पहिरो गएको छ । 

सोमबार २६.३५ अंकले बजार घटी नेप्से परिसूचक १५४४.६० अंकमा झरेको हो । 

प्रमुख प्रतिपक्षी दलले संसदमा सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्तावको विरोधमा लगातार संसद अवरुद्ध पारी आन्दोलन समेत थालेपछि यसको असर पूँजीबजारमा पनि देखिएको विश्लेषकहरुले बताएका छन् । ब्याजदर, ठूला लगानीकर्ता बजारमा सक्रिय नहुनु, म्युुचुुअल फण्डहरु समेत पर्ख र हेरको रणनीतिमा बस्नुलगायतका कारणले समेत बजारमा दैनिकजसो पहिरो गइरहेको विश्लेषण गरिएको छ । 

बजारमा परिसूचक घटेसँगै कारोबार रकम पनि घट्न थालेपछि यसले आगामी दिन समेत सुुखद नरहेको संकेत गरेको छ । यसको अर्थ आगामी दिन समेत बजार परिसूचक ओरालो लाग्न सक्छ । 
सोमबार होटल, बिमा र विकास समूहमा सबैभन्दा धेरै गिरावट आयो । होटल समूह ५६.०८(२.८४ प्रतिशत), बिमा १७३.३८(२.३३ प्रतिशत) र विकास बैंक समूह ३३.९४(२.०९ प्रतिशत)ले तल झर्यो । वाणिज्य बैंक समूहमा पनि २५.१ अंकको गिरावट देखियो । जलविद्युत समूूहमा ३८.३ अंकको पहिरो गयो भने बित्त समूह ८.३ र अन्य समूूह १.७३ अंकले घट्यो । उत्पादनमूलकमा भने २.३२ अंकको झिनो बढोत्तरी देखियो । 

धेरै कारोबार गर्नेहरु 
सोमबार आइतबारको तुलनामा कारोबार रकम पनि घट्यो । १४० कम्पनीको कुल ८ लाख ९१ हजार ५ सय ५४ कित्ता सेयर ६४ करोड ८२ लाखमा किनबेच भयो । 

सबैभन्दा बढी वाणिज्य बैंकहरुले ३९ करोड २१ लाखको कारोबार गरे । यस्तै, बिमा समूहले १३ करोड ७० लाख र विकास बैंक समूहले ५ करोड ८२ लाखको मात्र कारोबार गरे । 

हकप्रदलगत्तै बोनस सेयर वितरणको समेत घोषणा गरेको सिद्धार्थ बैंकले सबैभन्दा बढी ११ करोड ८३ लाखको कारोबार गर्यो । बोनस र हकप्रद एकसाथ घोषणा गरेको मेगा बैंकले ५ करोड २६ लाख बढीको कारोबार गर्यो । 

यसैगरी, एभरेष्ट बैंकले ४ करोड ३७ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ९७ लाख, शिखर इन्स्योरेन्सले २ करोड ६८ लाख, नेपाल एसबीआई बैंकले २ करोड ४९ लाख बढीको कारोबार गरे । 

सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले कब्जा गरे भने तीन स्थान बिमा कम्पनी र बाँकी एक स्थान फाइनान्स कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
घट्दो बजारमा तीन कम्पनीले भने पैसा छापे । अरुण फाइनान्स, नमस्ते बित्तीय संस्था र मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र एनबी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ७.५५ र ७.४८ प्रतिशतले वृद्धि भयो । 

पाँच कम्पनीको सेयर मूल्यमा पहिरो गयो । नागबेली लघुवित्त विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लिमीटेड, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । नेपाल ग्रामीण विकास बंैक लिमीटेडको मूल्य पनि साढे आठ प्रतिशतको हाराहारीमा घट्यो ।