– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। विशेषगरी नेपालको सेयर बजार देशको अर्थतन्त्र, ब्याजदर, नीति–नियम, राजनीतिक घटनाक्रम र लगानीकर्ताको सेन्टिमेन्टले प्रभावित हुने गरेको छ।
बजार तल्लो विन्दु छँदा लगानी गर्ने, माथिल्ल्लो विन्दुमा बिक्री गर्ने र राम्रा कम्पनीमा बजार न्यून विन्दुमा आएको बेला लामो समयका लागि लगानी गर्नेले मनग्य नाफा कमाएका प्रशस्त उदाहरण छन्। बजार बढेर उच्च विन्दु पुगेका बेला कमजोर कम्पनीमा लगानी गरेर डुबेका घटना पनि उत्तिकै छन्।
पछिल्लो समय नेपालमा राजनीतिक अन्यौलता देखिएको छ। जसका कारण बजार गत साता ४ दिन नै ओरालो लागेको थियो। बजार २०७० को विन्दुमा झरेको छ। यतिबेला बजारमा लगानी गर्ने उचित समय हो त ?
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल अर्थमन्त्री विष्णु पौडेलले धेरै आश देखाएर केही नगरेका कारण निराश भएका लगानीकर्ताले सेयर बिक्री गर्दा बजार घटेको बताउँछन्। ‘अब केही दिनभित्रै राजनीति मुद्दा वारपार हुन्छ’, उनले भने, ‘अहिले तरलता सहज हुँदै गएकोले ब्याजदर घट्दो क्रममा छ। अब बजार त्यति धेरै घट्दैन।’
लम्साल अब १–२ महिनापछि बजारले फेरि माथिको यात्रा तय गर्ने बताउँछन्। ‘बजारको सुन्दरता भनेकै घट–बढ हो’, उनले भने, ‘बढेको बजारमा केही करेक्सन आउनु भनेको फेरि लगानीको अवसर पनि हो।’
बजार जानकार केशव कोइराला (काका) बजारलाई लयमा चल्न दिन नीतिगत सुधार आवश्यक रहेको बताउँछन्। ‘विगतमा पनि अहिलेको जस्तै अर्थतन्त्रमा नेपाललगायत विश्वभर आर्थिक मन्दी आएको इतिहास छ’, उनले भने।
अहिले अर्थतन्त्र र राजनीति दुवै कमजोर अवस्थामा रहेको कोइराला बताउँछन्। ‘केही समयपछि यी दुवैमा सुधार आउनेछ’, उनले भने।
अर्थमन्त्रीको भाषणले बढेको बजार उनको काम हेरेपछि घटेको कोइरालाको भनाइ छ। अब ४–५ महिनाका लागि लगानी गर्ने समय भए पनि लामो समयका लागि भने लगानी गर्ने समय आइनसकेको उनको तर्क छ।
बजार फेरि एकपटक केही माथि पुगेर तल आएपछि मात्र लामो समयका लागि लगानी गर्न उपयुक्त हुने कोइरालाको सुझाव छ। ‘त्यसपछि भने राजनीति र अर्थतन्त्र दुवैले साथ दिएमा बजारको बुल सुरु हुनेछ’, उनले भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago