काठमाण्डौ । पुँजीगत लाभकरका विषयमा आन्तरिक राजश्व विभागले बुधबार जारी गरेको नोटिसप्रति सेयर लगानीकर्ताहरुले आपत्ति जनाएका छन्।

आज काठमाण्डौको कमलपोखरीमा भेला भएका लगानीकर्ताहरुले विभागले जारी गरेको नोटिसमा लगानीकर्तालाई ‘नियमित’ र ‘पटके’ भनेर अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले यसविरुद्ध सेयर कारोबार हल्ट (रोक्ने)सम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसका लागि ब्रोकरको टीएमएस बन्द गर्न आह्वान गरिने भएको छ।

अहिले कमलपोखरीमा लगानीकर्ताहरुको भेला जारी रहेको छ। भेलाबाट थप आन्दोलनको कार्यक्रमहरु घोषणा गर्ने लगानीकर्ताहरु जानकारी दिएका छन्। 

आन्तरिक राजश्व विभागले बुधबार सूचना गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने बुधबार प्रस्ट पारेको थियो। ‘आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्नै लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिसमेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ’, सूचनामा भनिएको छ, ’नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ।’

विभागको यो सूचनामा ‘नियमित’ र ‘पटके’ शब्दले पुँजीबजारसँगै लगानीकर्ताको खिल्ली उठाएको लगानीकर्ताहरुको भनाइ छ।