काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। 

आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरुलाई बुधबार उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। यो बर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ।’

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा  नहेर्न पनि अर्थमन्त्री महतले आग्रह गरे। ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला’, उनले भने, ‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्। राम्रो काम गर्ने साथीहरुलाई धन्यवाद दिन चाहन्छु।’

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने रहेको महतले प्रस्ट पारे। ‘राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ। त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ। अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘हाम्रो तलबभत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ। यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ।’

राजस्वको दायरा बढाउँछौँ भनेरमात्र नबढ्ने मन्त्री महको भनाइ थियो। ‘अर्थतन्त्रले पनि गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ। बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ’, उनले भने, ‘भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ।’

सधैँ भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने पनि महतले प्रस्ट पारे। ‘आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ। यो सुरु भइसकेको पनि छ। आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’, उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ। यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ।’

आन्तरिक राजस्व विभागमार्फत यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय रहेको मन्त्री महतले बताए। ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ’, उनले भने, ‘अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन्। उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन वृद्धि गर्नुपर्छ।’ 

‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौँ। नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो’, महतले भने, ‘पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो। यसले पनि समस्या ल्याउँदै गयो। कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन। राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो। करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौँ।’

भ्याटलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव पनि अर्थमन्त्री महतले दिए। ‘सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर विषय हो। सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन’, उनले भने, ‘व्यवसायीले बिक्रीका क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विनासर्त दाखिला गर्नुपर्छ। यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ। विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ।’