काठमाण्डौ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणका ठोस उपायसहितको कार्ययोजना पेस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा आज बसेको समितिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने छ। 

राजस्व चुहावटको ठोस उपायसहितको कार्ययोजना एक साताभित्र तयार गरी समितिमा पेस गर्न राजस्व सचिव संयोजक र राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरु सदस्य रहेको कार्यदल गठन गरिएको छ। 

नजिक आइरहेको दसैँ, तिहार, छठ पर्वहरुलाई मध्यनजर गरी चोरीपैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय गर्ने र संवेदनशील नाकाहरुमा आकस्मिक गस्ती बढाउने निर्णय पनि समितिले गरेको छ। 

राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने र यसमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय बैठकले गरेको छ। 

पैठारीको परिमाणमा अस्वाभाविक कमी आएका वस्तुहरुको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चौरीपैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरीपैठारी हुन सक्ने संवेदनशील नाकामा विशेष निगरानी बढाउने निर्णय समितिको बैठकले गरेको छ। 

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएर अगाडि बढिरहेको सन्दर्भमा राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच उच्चस्तरको समन्वय काम गर्न निर्देशन दिए। 

यसैगरी अर्थमन्त्री महतले राजस्व चुहावट नियन्त्रणमा संलग्न निकायले आआफ्नो कमजोरीहरु समीक्षा गरी सुधारको मार्ग पहिल्याउन निर्देशन दिए।