काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ १२ गतेसम्म सरकारको राजस्व संकलनभन्दा खर्च कम देखिएको छ। 

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १२ गतेसम्म सरकारले १ खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यही अवधिसम्म सरकारले ४३ अर्ब रुपैयाँमात्र खर्च गरेको छ।

यो अवधिसम्मको कुल राजस्वमध्ये कर राजस्व ८७ अर्ब रुपैयाँ छ र गैरकर राजस्व १० अर्ब रुपैयाँ छ । सरकारले ७९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। अन्य प्राप्ति १२ अर्ब रुपैयाँ छ। 

सरकारले भदौ १२ गतेसम्म संकलन गरेको राजस्व वार्षिक लक्ष्यको ७.६४ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। 

महालेखाका अनुसार सरकारले भदौ १२ गतेसम्ममा ४३ अर्ब रुपैयाँमात्र खर्च गरेको छ। जसमा चालु बजेट खर्च २५ अर्ब रुपैयाँ र पुँजीगत बजेट खर्च २ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थानतर्फको बजेट भने १५ अर्ब रुपैयाँ खर्च भएको छ।

यो अवधिसम्मको खर्च वार्षिक खर्च लक्ष्यको २.४२ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ।