काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले आइतबार कार्यालय समय सुरु हुनुअघि नै धितोपत्र बोर्डको मूलगेटमा तालाबन्दी गरेर सबैलाई ‘सरप्राइज’ खबर दियो । 

पूर्व घोषणाविपरीत छापामार शैलीमा दवाब समूहले धितोपत्र बोर्डमा गएर तालाबन्दी गरेको थियो । 

दवाब समूहका अध्यक्ष हरि ढकालसहित केही व्यक्ति जाउलाखेलस्थित बोर्डमा पुगेर आफूले राखेका ३२ बुँदे माग पूरा गराउन दवाब दिने उद्देश्यले त्यसरी तालाबन्दीमा उत्रिएका थिए । 

खासमा यो समूहले आइतबार धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेराउ गरी प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, लगानीकर्ता घर घेर्न आउने भनेपछि कार्की र गिरीको घरमा बिहानैदेखि सुरक्षाकर्मीको दलबल तैनाथी अवस्थामा थियो । 

थोरै संख्याका लगानीकर्ता गएर कार्की र गिरीको घर घेराउ गर्दा स्थानीय युवाहरुलाई समेत प्रतिकारमा उतार्नसक्ने र अप्रिय घटना हुने निश्कर्षसहित दवाब समूहले पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरी तालाबन्दीको ‘सरप्राइज’ दिएको सो समूहका एक सदस्यको दाबी छ । 

तालाबन्दीको ‘सरप्राइज’पछि सुरुमा त्यहाँ पुगेका ढकाल लगायतको फोन कलका आधारमा अन्य लगानीकर्ता बोर्ड गएका थिए । त्यसपछि त्यहीँ तालाबन्दीसँगै मूलगेटमै धर्ना दिने निर्णय भयो र करिब २५ लगानीकर्ता धर्नामा बसे । 

यो क्रममा धितोपत्र बोर्डका कर्मचारीहरु आए, तालाबन्दी भएको देखेपछि घाम तापेर बसे । 

लगानीकर्ताहरुलाई तालाबन्दी खुलाउन समन्वय गर्ने गरी परिष्ठनाथ पौड्याल आइपुगे । उनले बारम्बार आग्रह गर्दा समेत लगानीकर्ताले तालाबन्दी खोल्न मानेनन् । 

निरज गिरी र दवाब समूहका ढकालबीच पटक-पटक फोनमा कुराकानी भइरहेको थियो । कार्की भने कसैको फोन नउठाई ‘लगानीकर्तालाई देखाइदिन्छु’ भन्दै सुरक्षा निकायलाई फोन गरेर बोर्डको तालाबन्दी फोड्न सहयोग गरिदिन भनिरहेका थिए । 

ललितपुर प्रहरीका अनुसार अध्यक्ष कार्कीकै सल्लाहमा धितोपत्र बोर्डको ताला फोड्ने योजना बनाइएको थियो । यो योजनाका लागि सान्दर्भिक र उपयुक्त पात्र बनेर एकाएक सिनमा देखिए–धितोपत्र बोर्डकै कर्मचारी राजु जिसी । 

कुरा के भएको रहेछ भने लगानीकर्ताले बोर्डमा आएर खुसुक्क तालाबन्दी गरिरहँदा बीसी चाहि कार्यालय आइसकेका रहेछन् । कार्यालयस्थित आफ्नै कार्यकक्षमा काम गरिरहेको बेला उनलाई तालाबन्दी भएको पत्तो नभएको बोर्डस्थित स्रोतले जानकारी दिएको छ । 

तालाबन्दी गरेर लगानीकर्ता धर्ना बसेपछि र होहल्ला सुनिएपछि मात्र उनले आफू कार्यालयमै थुनिएको थाहा पाएका दाबी स्रोतको छ । 

बोर्डका अध्यक्ष कार्की र कार्यकारी निर्देशक गिरीले बीसीलाई नै अगाडि सारेर लगानीकर्ताको तालाबन्दी असफल बनाइदिने कुटिल चाल रचेका र उनीहरु आफ्नो रणनीतिमा सफल पनि बनेका लगानीकर्ताका नेताहरुको दाबी छ । 

बिसी भित्र थुनिएपछि उनलाई बाहिर निकाल्ने नाममा ताला खोल्ने विषयमा लगानीकर्तासँग प्रहरी र बोर्डका अन्य कर्मचारीले बार्गेन गरेका थिए । यो क्रम झण्डै २ घण्टा चलेको थियो । 

लगानीकर्ताले ताला खोलेर बीसीलाई सुरक्षित निकालिदिने र त्यसपछि पुनः तालाबन्दी गरी धर्नालाई जारी राख्ने बताएका थिए । तर, त्यहाँ सुरक्षाका लागि पुगेको प्रहरी नेतृत्व भने कडा रुपमा प्रस्तुत भयो । लगानीकर्ताको मागमा ध्यान नदिई तालाबन्दी गर्न पाइन्न भन्दै प्रहरी ठूलो फोर्ससहित अगाडि बढेर ताला तोडेको थियो । 

ताला तोड्नुअघि बोर्डको तेश्रो तलामा रहेका बीसी र लगानीकर्ताबीच पटक–पटक भनाभन भइरहेको थियो । लगानीकर्ताले बीसीलाई देखाइदिने भन्दै धम्की दिइरहेको बेला बीसी पनि माथिबाट लगानीकर्तालाई धम्क्याइरहेका देखिन्थे । धम्काधम्कीको यो क्रम निकैबेर चलेको र प्रहरीले तालाबन्दी फोडेपछि लगानीकर्ताहरुले बीसीलाई लक्षित गर्दैै धम्की दिएका भिडियोमा कैद भएको छ । 

बिसीले धितोपत्र बोर्डमार्फत प्रहरी समक्ष आफूलाई लगानीकर्ताहरुले खुलेआम धम्की दिएका भन्दै जिउज्यानको सुरक्षाको माग गर्दै मौखिक उजुरी दिएका प्रहरीले जनाएको छ । 

भिडियोमा लगानीकर्ताहरुमध्ये केहीले बिसी नै आन्दोलन भाँड्ने कारक तत्व रहेकोतर्फ इंगित गर्दै आफूहरुलाई गोली ठोक्न भन्दै चेतावनी दिइरहेका देखिन्छ । 

कतिपय लगानीकर्ताहरुले भने आक्रोशित मुद्रामा बोर्डका अधिकारीहरुलाई आफ्नो सुरक्षा व्यवस्था राम्रो गर्न चेतावनी दिइरहेका देखिन्छ । कतिपय चाहि बिसीकै कारण आफूहरुको बेइज्जत भएको भन्दै कसैलाई नछाड्ने भनिरहेका भिडियोमा देखिन्छ । (बाँकी समाचार तलको भिडियो हेर्नुहोस्)

लगानीकर्ताहरुको ताला तोडिनुमा बिसी कति दोषी छन् या छैनन्, त्यो उनैले जानून् । तर, ताला तोडाउन चाहनेहरुका लागि भने उनी राम्रो बाहाना र माध्यम बनिदिए । उनलाई अफिसबाट बाहिर निकाल्ने नामबाट सुरु भएको बार्गेन अन्ततः बल प्रयोगमा परिणत भयो । अन्ततः प्रहरीले लगानीकर्ताले लगाएको ताला तोडेरै छाड्यो । 

त्यसपछि लगानीकर्ता आक्रोशित मुद्रामा प्रदर्शनमा उत्रिए । रेवत कार्की र निरज गिरीविरुद्ध नाराबाजी गरे । ठूलो संख्यामा तैनाथ प्रहरीका अगाडि ठेलमठेलमा उत्रिनु थोरै संख्याका लगानीकर्ताको बशमा थिएन । यही कुरा बुझेका लगानीकर्ता नाराबाजी गर्दै त्यहाँ हिँडे । 

यसरी करिब साढे ४ घण्टाको अवधिमा तालाबन्दीको सरप्राइज खबर, ताला तोडिएको अर्को सरप्राइज खबरको शिकार भयो ।