TIA Passengers
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार बिग्रेपछि उडान र अवतरण प्रभावित भई सयौं यात्रुहरु बिचल्लीमा परेका छन् ।
बुधबार रातिदेखि नै बिग्रिएको सर्भिलेन्स राडार समयमै मर्मत नहुँदा एउटा जहाज उडेपछि अर्को जहाज उड्ने समय बढेको र यसले उडान र अवतरण समयमा नहुँदा आन्तरिक टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ ।
राडार बिग्रिएपछि अन्तराष्टिय उडान पनि प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
बिजशालासँग कुरा गर्दै उनले उडान र अवतरणमा डिले हुने समस्या आए पनि कुनै पनि उडान रद्ध गर्नु चाहि नपरेको दाबी गरे । डिले भएकै कारण आन्तरिक टर्मिनमा यात्रुको घुइँचो लागेको उनको भनाई छ । उनकाअनुसार राडार बिग्रिएपछि एयर ट्राफिक कन्ट्रोलरहरुलाई निकै समस्या भएको छ । यसैका कारण बिमानको ‘डिस्ट्यान्स मेन्टेन’ गर्नुपर्ने भएका कारण उडान अवतरण ‘डिले’ भएको उनले बताए ।
तर, उनले भनेजस्तो केही ढिला मात्र नभई विमानस्थलामा घण्टौ कुर्नुपरेको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् । कतिपय यात्रु आन्तरिक टर्मिनलमा बस्ने ठाउँको अभाव भएपछि उभिएरै आफ्नो उडानको प्रतिक्षा गरिरहेका देखिन्थे ।
कतिपय यात्रुहरुले चाहि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा र जनकपुर भ्रमणको पूर्वतयारीका कारण विमानस्थलमा उडान अवतरण प्रभावित भएको आरोप लगाएका छन् ।
विमानस्थलमा आफन्त लिन पुगेकाहरु विमान ‘डिले’ भएपछि घण्टौंदेखि कुर्नुपर्ने बाध्यतामा परेका छन् ।
राष्ट्रपति मुखर्जी बुधबार नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करिब ५० मिनेटसम्म बन्द गरिएको थियो । त्यस बेला पनि यात्रुहरु मर्कामा परेका थिए ।
शुक्रबार २ पटक बन्द हुने
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने भएको छ । उनी काठमाडौंवाट जनकपुर र पोखरा जाँदा विमानस्थल डेढ घण्टा बन्द हुने प्रवक्ता ठाकुरले बताए । उनका अनुसार मुखर्जी जनकपुर जाने क्रममा विहान दस बजेदेखि साढे दस बजेसम्म विमानस्थल बन्द हुनेछ । त्यस्तै, जनकपुरबाट उनी दिउँसो दुई बजे पोखरा जानेछन्। पोखराबाट काठमाण्डौ फर्किएपछि विमानस्थलबाटै भारतीय राष्ट्रपति भारत फर्किने कार्यक्रम छ । ठाकुरका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको स्वदेश फिर्तीका समय बेलुका सवा चार बजेदेखि पाँच बजेर १५ मिनेटसम्मका लागि पनि त्रिभुवन विमानस्थल बन्द हुनेछ ।
स्रोतका अनुसार पोखरा र जनकपुर भ्रमणका लागि बुद्ध एयरको जहाज चार्टर्ड गरिएको छ । पोखरा विमानस्थल भने एक घण्टा प्रभावित हुनेछ । जनकपुरबाट पोखरा र पोखराबाट काठमाडौं फर्किने क्रममा पोखरा विमानस्थल एक घण्टा बन्द हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago