काठमाण्डौ । पहिलो चरणको निर्वाचनपछि उत्साह थपिएको बजारमा धेरै दिनपछि बुधबार १ अर्ब बढीको कारोबार भएको छ । विगत केही दिनदेखि बजार बलियो बन्दै जाने संकेतहरु देखिएका थिए । निर्वाचनपछि लगानीकर्तामा बढ्दै गएको आत्मविश्वास, निर्वाचनका कारण बजारमा प्रवाह भएको पैसाले सहज बन्दै गएको तरलता, बजारका विज्ञ तथा विश्लेषकहरुले निर्वाचनपछि सेयर बजारमा उछाल आउने विश्लेषण र आशावादी प्रक्षेपणले समेत बजार बढाउन काम गरेको देखिन्छ । 

समग्रमा बजारमा खरीदकर्ताको संख्या बिक्रीकर्ताको तुलनामा बढ्दै गएको छ । खरीदकर्ता सक्रिय हुँदै जानुु, परिसूचक र कारोबारमा यो किसिमको बढोत्तरी हुनुुले बजार दिनहुँ बलियो बन्दै गएको बुुझ्न सकिन्छ । बलियो बन्दै गएको बजारमा जुनसुकै बेला उछाल आउनसक्ने आँकलन गर्दै बाठा लगानीकर्ताहरुले पूँजीगत आधार, नाफा कमाउनसक्ने संभावना, लाभांश दिनसक्ने अवस्था, विगतको प्रदर्शन लगायतलाई आधार मानेर छानी–छानी राम्रा र बलिया कम्पनीहरुमा लगानी गर्न थालेका छन् ।

सर्ट टर्म कारोबारीले बजार बढ्न थालेपछि थोरै मार्जिन राखेर सेयर बिक्री गरिरहेका छन् भने खरीदकर्ताहरु समेत सक्रिय भएर राम्रा कम्पनी धमाधम किन्न थालेपछि खरीद र बिक्रीतर्फको चापका कारण कारोबार रकम १ अर्ब ५ करोड माथि पुुगेको देखिएको छ । तर, कारोबारी तथा लगानीकर्ताहरुको बुधबारको सक्रियता अभूतपूर्व रह्यो । 

बजारमा कारोबार रकम र सूचकमा समानान्तर बढोत्तरी हुँदै गयो र यो क्रम केही दिनसम्म निरन्तर रहिरहे बजारमा उछाल आउने विश्लेषकहरु बताउँछन् । आइतबारदेखिको प्रदर्शनलाई हेर्दा बजारमा अब उछाल आउने संभावना बलियो बन्दै गएको देखिएको छ । कारोबार रकममा त बुधबार नै उछाल आइसकेको छ । बुधबारको प्रदर्शनले भविष्यमा बजार अझ सुधार भएर माथि जाने र निर्वाचनपछि विश्लेषकहरुले भनेजस्तो पूँजीबजारको स्वर्णिमयुुग सुरु हुने संकेतहरु देखिन थालेका छन् । 

के के भो बुधबार ?
बुधबार नेप्से परिसूचक १२.२६ अंकले बढी १५३६.१२ अंकको उचाईमा पुुगेको छ । यो दिन उत्पादनमूलकबाहेक सबै समूहको सूचक बढेका छन् भने होटल र माइक्रोफाइनान्समा उछाल आएको छ ।

होटल समूह ५१.३९(२.४५ प्रतिशत) अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहमा २.२९ प्रतिशतको उछाल आएको छ । 

यस्तै, बैकिङ समूह ८.५९ अंकले बढेको छ भने विकास बैंक समूह १३.२२, बिमा समूह १००.२४, बित्त समूह ५.६४, जलविद्युत समूह ९.६१, अन्य समूह ३.१८ र ट्रेडिङ समूह २.८८ अंकले बढेका छन् । उत्पादनमूलकमा ३२.१२ अंकको गिरावट देखियो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स २.५७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.९४ अंकको सुधार भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका २० लाख ५७ हजार १ सय ६५ कित्ता सेयर १ अर्ब ५ करोड ३५ लाख ७१ ह्जार ४ सय ३९ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमीटेडले ७ करोडको हाराहारीमा कारोबार गर्यो भने नेपाल टेलिकमको साढे ६ करोड बढीको सेयर समेत किनबेच भयो । सानिमा माई हाइड्रोपावरले ६ करोड ३४ लाख बढीको कारोबार गर्यो भने चिलिमे हाइड्रोले ५ करोड ९६ लाख, एनसीसी बैंकले ४ करोड २८ लाख, नेपाल बैंकले ४ करोड २ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ९२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ५१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा पनि ९ प्रतिशतकै बढोत्तरी भयो । 

यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरीले गुमायो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो ।