काठमाण्डौ । साताको पहिलो र दोश्रो दिन भीषण पहिरो व्यहोरेको बजार मंगलबार भने सम्हालिएको छ । यो दिन नेप्से परिसूचक ८.७ अंकले बढेर १२९६.४४ विन्दूमा फर्किएको हो । 

पहिलो एकघण्टासम्म निरन्तर पहिरो व्यहोरेको बजार त्यसपछि भने केही सम्हालिन सुरु गरेको थियो । 

बजार निरन्तर घटेर वर्षकै न्यून विन्दूमा सीमित भएपछि राम्रा कम्पनीको सेयर सस्तोमा उठाउने होडबाजी चलेको देखिएको छ । सस्तोमा सेयर पाउने भएपछि लगानीकर्ताले खरिदारी बढाउँदा बजारमा खरीद चाप बढेको देखिएको हो । लगानीकर्ता, जानकार तथा विज्ञहरुले बजार घटेर न्यून विन्दूमा झरेको अवस्थालाई सेयर खरीदको उपयुक्त समय भएको भन्दै राम्रा कम्पनीको सेयर उठाउनुु लाभदायक हुने सुुझाव दिइरहेका छन् । घटेको बेला खरीद गरेको सेयरले भविष्यमा राम्रो रिटर्न दिने भन्दै बजार विश्लेषकहरुले समेत यही बेलामा सेयर खरीद गर्न लगानीकर्तालाई सुुझाव दिइरहेका छन् । यस्तै सुुझावको प्रभावले बजारमा बढोत्तरी भएको हो । 

मंगलबार बजारमा ४८ करोडको हाराहारीमा कारोबार भएको छ । 

यो दिन होटल समूह ६९.५८ अंकले घटेको छ भने अन्य समूह पनि ५.२९ अंकले घटेको छ । बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ । 

बैकिङ समूह १०.५४ अंकले बढेको छ भने बिमा समूह ३४.९७, विकास बैंक समूह १९.९७, माइक्रोफाइनान्स १९.०१ र बित्त समूह १.८५ अंकले बढेको छ । यस्तै, व्यापार समूह २.९५ अंकले बढेको छ भने जलविद्युत कम्पनी २२.०७ अंक, उत्पादनमूलक ११.२६ अंकले बढेको छ । 

यो दिन 'क' वर्गका कम्पनीहरुको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका १४ लाख ४० हजार ८ सय ८४ कित्ता सेयर ४७ करोड ९९ लाख ८५ हजार ९ सय ९२ रुपैयाँमा कारोबार भयो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीले २ करोड ५२ लाख बढीको कारोबार गर्यो । यस्तै, सानिमा बैंकले २ करोड १८ लाख बढीको कारोबार गरेको बजारमा इन्भेष्टमेन्ट बैंकको २ करोड ७ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । नवील बैंकले १ करोड ६३ लाख बढीको कारोबार गरेको बजारमा एनसीसी बैंकको १ करोड ५६लाख बढीको संस्थापक सेयरको समेत कारोबार भयो । इन्भेष्टमेन्ट बैंकले १ करोड ४० लाख, एनएमबी बैंकले १ करोड ३७ लाख, एनसीसी बैंकले १ करोड २५ लाख, एभरेष्ट बैंकले १ करोड २२ लाख र नेपाल बैंकले पनि १ करोड २२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि स्वदेशी लघुवित्त बित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन ओरिएन्टल होटल लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।