काठमाण्डौ । लगानीयोग्य पूँजीको चरम अभाव, दोश्रो बजारमै सस्तो मूल्यमा म्युचुुअल फण्डहरुको इकाई पाउने अवस्था र कमजोर व्यवस्थापन लगायतका कारणले ‘सिटिजन्स म्युचुुअल फण्ड’को आकार १ अर्ब समेत पुुग्न सकेन । 

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटल लिमीटेडको नेतृत्वले आफ्नो पहिलो म्युचुुअल फण्डको इकाईमा लगानी गर्दा त्यसले राम्रो रिटर्न दिने र लगानीकर्ता सुरक्षित हुने भन्ने तर्कलाई पुष्टि गरी लगानीकर्तालाई कन्भिन्स गर्न नसक्दा १ अर्बको फण्ड खुम्चिएर ८२ करोडमा सीमित बन्न पुुगेको हो । 

यो कम्पनीले म्युचुुअल फण्डको इकाईको सार्वजनिक निश्कासन गर्दा लगानीकर्ताले खरीद गर्ने खासै इच्छा देखाएनन् । कम्पनीले इकाई बिक्रीका लागि पटक–पटक समय थप्नेदेखि ठूला लगानीकर्ताहरुसम्म पुुगेर हारगुहार गरे पनि अन्ततः सबै बिक्री हुन सकेन । सर्वसाधारणको तर्फबाट ६७ करोड रुपैयाँ बराबरको मात्र आवेदन परेको सिबीआइएल क्यापिटलले जनाएको छ । आइतबार आवेदन परेका फण्डहरुको बाँडफाँड गरिएपछि यो तथ्य बाहिर आएको हो । 

क्यापिटलले बिक्रीमा ल्याएको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलले सुरक्षित गरिसकेको छ । यसको अर्थ सर्वसाधारण लगानीकर्ताले ६७ करोड बराबरको इकाई खरीद गरेकोले यो समेत जोडी फण्डको आकार ८२ करोड सीमित भएको हो ।

फण्डको इकाई खरीदका लागि आवेदन दिएकामध्ये ३५ वटा आवेदन रद्ध भएका र बाँकी १७ हजार २ सय ७७ आवेदकले माग गरेअनुसारकै इकाई पाएका बताइएको छ । 

यो फण्डले वार्षिक रुपमा औसतमा २२ प्रतिशत भन्दा बढी प्रतिफल दिने भनेर प्रचार गरे पनि लगानीकर्ता त्यसतर्फ लोभिएनन् । कम्पनीले प्रभावकारी ढंगले यसको प्रचार र त्यसको प्रभावकारी व्यवस्थापन नै गर्न नसकेको जानकारहरु बताउँछन् ।