काठमाण्डौ । नेपालीहरुको दोस्रो महान चाड तिहारकै बीचमा २ हाइड्रोपावर कम्पनीहरुले सर्वसाधारणलाई रु.१०० मै सेयर दिने भएका छन् ।

यही साताको आगामी बुधबार र बिहीबार सार्वजनिक निष्कासन गर्न लागेका माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई रु.१०० प्रतिकित्ताका दरले प्राथमिक बजारमार्फत सेयर दिने भएका हुन् ।

केन्द्रीय कार्यालय काठमाण्डौ डिल्लीबजारमा रहेको माउन्टेन इनर्जीको मुख्य उद्धेश्य हाइड्रोपावर आयोजनाहरुको विकास गर्नु हो । कम्पनीमा सुहरिदराज घिमिरे अध्यक्ष र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सञ्चालकका रुपमा छन् । 

कम्पनीले नुवाकोट जिल्लामा रहेको ५ मेगावाटको टाँडीखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माणाधीन रहेको र म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्त्री खोला इाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ ।

युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको मुख्य कार्यालय सानेपा ललितपुरमा छ । 

युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको कास्कीको ल्वाङघलेमा रहेको मार्दी खोलामा ७ मेगावाट क्षमताजडित अपरमार्दी हाइड्रोपावर प्रोजेक्ट रहेको कम्पनीले जनाएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले यही कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आईपीओ निष्कासन छिटोमा मंसिर २ गते र ढिलोमा मंसिर १० गते (बैंकिङ समयपछि) बन्द हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन्।

यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।

अठार लाख कित्ता हाराहारी आइपीओमा सर्वसाधारणका तर्फबाट हाल ८ लाख हाराहारीले आवेदन दिने भएकाले १० कित्ता अर्थात् रु.१ हजारमात्र लगानी गर्न उपयुक्त देखिन्छ ।

युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि ८.७३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा मंसिर ३ गते र ढिलोमा मंसिर ११ गते (बैंकिङ समयपछि आवेदन दिने कार्य बन्द हुनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

यस कम्पनीमा पनि हाल करिब ८ लाख हाराहारीले आइपीओमा आवेदन दिइरहेकाले ८ लाख कित्ता हाराहारीका लागि सर्वसाधारणले १० कित्ता अर्थात् रु.१ हजारमात्र लगानी गर्न मनासिब ठहर्छ । आवेदक र आवेदन लगभग बराबरी जस्तै हुने भएकाले लक्की ड्रमार्फत् आइपीओ बाँडफाँड हुन्छ त्यसैले पनि रु.१ हजार भन्दा बढी लगानी नगर्दा नै बेस हुन्छ ।