मुगु । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ऐतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ। 

नाडाले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो। कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको हो। यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो।’

अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिएको बताए। उनले भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नुपर्ने देखिन्छ।’ 

बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एसोसिएसनसँग पनि रारा तालको परिसरमा अन्तर्क्रिया आयोजना भएको थियो। कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तरप्रदेश सम्बन्धलगायतका विषयमा आफ्नो धारणा राखेका थिए।