काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्युट्रिसन इनिसिएटिभलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ। सहयोगअन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ।

आर्थिक सहयोगका सम्बन्धमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले समझदारीपत्रमा एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरतालगायतको क्षेत्रमा मात्र नभएर बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सीएसआरमार्फत सहयोग गरेको बताए। 

डा उपाध्यायले दुई वर्षभन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टका रुपमा चयन गरिएको बताए। 

कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए। कार्यकममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल, इनिसियटिभका पार्टनरसिप डाइरेक्टर उत्सव ढुंगानालगायतको उपस्थिति रहेको थियो। 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सुविधा उपलब्ध छन्।