काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। 

मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पेबीच सम्झौता भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गरका छन्। 

यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन्। 

यस्तै राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ। कार्यक्रममा बैंकका विभागीय प्रमुख रिको स्थापितलगायत कर्मचारीको उपस्थिति थियो।