काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि कुल ३ करोड ९९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। यो कम्पनीले जारी पुँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशतबापत २ करोड रुपैयाँबराबरको २ लाख कित्ता तथा सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि १ करोड ९९ लाख रुपैयाँबराबरको १ लाख ९९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज कम्पनीका तर्फबाट अध्यक्ष बद्रीप्रसाद गौतम र प्रभु क्यापिटलका तर्फबाट प्रबन्धक निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल सतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ।