काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ आज मंगलबार (जेठ ३० गते) बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम  बजे राखिएको थियो। 

कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो। 

कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको थियो। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा ११ लाख ८५ हजार २०६ आवेदकबाट कुल १ करोड २९ लाख ८६ हजार ३९० कित्ता सेयर माग भएको थियो। जसमा १० लाख ८० हजार २८८ आवेदकबाट परेको १ करोड १५ लाख ९५ हजार ५३० कित्तामात्रै प्रमाणीकरण भएको थियो। 

प्रमाणीकरण भएकामध्ये १० लाख ७७ हजार ७४० आवेदकबाट परेको १ करोड १५ लाख ६४ हजार ५९० कित्तामात्रै सदर भएको छ। बाँकी २ हजार ५४८ आवेदकबाट परेको ३० हजार ९४० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाएका छन्। तिनै आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो हिसाबले सदर आवेदकमध्ये १० लाख १३ हजार ३७४ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनी वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेन सकिनेछ।