काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाँउपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार काठमाण्डौमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ। गाउँपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ।

कार्यक्रममा बागमती प्रदेशसभाका सांसद राजन दाहालले गाउँपालिकाले बजार तथा सडकको विस्तार गरिसकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यका लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीयस्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असुलीमा  सघाउ पुग्ने बताए। 

गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नका लागि अवसर हुने बताइन्। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य तथा विभागीय प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाउँपालिकाका उपाध्यक्ष दिर्व सिं मुक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरुलगायतको उपस्थिति थियो।