काठमाण्डौ। पूर्वगृह र ऊर्जा तथा जलस्रोतमन्त्री तथा संघीय संसदका सांसद जर्नादन शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाण्डौमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले हस्ताक्षर गरेका छन्। सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधनसमेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ। नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम १० लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ। 

समारोहमा पूर्वमन्त्री शर्माले देश स्रोतसाधनमा धनी हुँदाहुँदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नुपरेको हुँदा यो कर्जाले स्रोतसाधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए। उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलका रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए। 

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीका आधारमा लगानी गरिने लघुवित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालका लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए। उनले देशको उत्पादन वृद्धि तथा गरिबी न्यूनीकरणका लागि सहुलियतपूर्ण कर्जालाई नमुनाका रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने धारणा राखे। उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा १ हजार ६६० जनालाई १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी विनाधितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको जानकारी दिए। राष्ट्रिय वाणिज्य बैंकले मात्रै बैंकिङ क्षेत्रमा भएको सहुलियतपूर्ण कुल कर्जा लगानीको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी गरिसकेको उनले बताए। 

मेयर शर्माले नगरवासीको गरिबी न्यूनीकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताए। 

कार्यक्रममा राष्ट्रियसभाका सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार अर्थविद् डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वयन समिति रुकुम (पश्चिम) का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल, अन्य कर्मचारीलगायतको उपस्थिति थियो।