काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाण्डौमा आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ।  नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ। 

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो कुल कर्जाको १ प्रतिशतबराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउँदै कर्जा तिर्नुनपर्ने भन्ने मानसिकता कसैले राख्न नहुने बताए। 

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरवासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बताए। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघसस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए। 

कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा रा.वा. बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदी, कम्पनी सचिव भोलानाथ पौडेल, शाखा कार्यालय बेलबारीका शाखा प्रबन्धक अर्जुन ढुंगाना, बेलबारी नगरपालिकाका स्थानीय राजकुमार बस्नेत, बैंकका कर्मचारीहलगायतको उपस्थिति रहेको थियो।