काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोगाम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई रकम हस्तान्तरण गरिएको छ। 

बैंकले पशुपति आइरन एन्ड स्टिल प्रालिलाई १ करोड रुपैयाँ, बोटलर्स नेपाल लिमिटेडलाई ५२ लाख ९४ हजार रुपैयाँ, बागमती आयल इन्डस्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एन्ड स्टिल प्रालिलाई ७ लाख ३४ हजार रुपैयाँ र इस्ट एसियन प्लास्टिक इन्डस्ट्रिज प्रालिलाई २ लाख ४० हजार रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार बैंकले एक समारोहका बीच हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म १७ वटा उद्योगलाई ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी गराए। 

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले यो कार्यक्रम कार्यन्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस कार्यक्रमअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइन्छ। कार्यक्रमअन्तर्गत कुनै एउटा इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाउँछ। 

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्वय सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्ट्यान्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः पशुपति मुरारका, सौरभ थापा, विवेक राठी, जगदिश बैद्य, अनन्तकुमार मण्डलालगायतकोे उपस्थिति थियो। 

कार्यक्रम उपप्रबन्धक होमराज भट्टराईले सञ्चालन गरेका थिए।