काठमाण्डौ । राष्ट्रपति निर्वाचनबारे आज राति १२ बजेपछि प्रचारप्रसार गर्न निषेध गरिएको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा निषेध गरिएको छ। 

राष्ट्रपति निर्वाचनका लागि यही फागुन २५ गते मतदान हुँदैछ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्। पौडेललाई आठ दलको समर्थन रहेको छ। 

आयोगको गत माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न पाइने छैन। 

आयोगले मतदानका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानमा सहभागी भई हुनसमेत मतदातालाई आग्रह गरेको छ।