काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रबाट प्रदान गरिने सम्मानमा कम्तीमा २ प्रतिशत मजुदरलाई समावेश गर्ने नीति लिइने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री दाहालद्वारा जारी शुभकामना सन्देशमा यस्तो उल्लेख छ। ‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु’, सन्देशमा भनिएको छ।
यसैगरी सम्पूर्ण मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा सर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरेका छन्। ‘यसका साथै अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोसाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको छ’, सन्देशमा भनिएको छ।
आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने प्रधानमन्त्री दाहालले जानकारी गराएका छन्।
आठ घन्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका लागि अमेरिकाको सिकागो सहरका मजदुरहरुले गरेको संघर्षलाई स्मरण गर्दै प्रधानमन्त्री दाहालले नेपाललगायत विश्वभरका मजदुरले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका उल्लेख गरेका छन्। ‘अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यबद्धता प्रकट गर्दछु’, दाहालले भनेका छन्, ‘नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका लागि संघर्ष र वलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्।’
किसान र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाहालले उल्लेख गरेका छन्। ‘नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको छ’, सन्देशमा भनिएको छ।
‘मई दिवसको अवसर पारेर प्रधानमन्त्रीका रुपमा मैले नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु’, सन्देशमा भनिएको छ, ‘नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। यो जिम्मेवारी पूरा गर्न म अनवरत रुपमा लागिरहने प्रण गर्दछु।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago