काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ। 

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकलाई  चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए। विभिन्न प्रक्रियापश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा कर्मचारीलाई नियुक्ति दिएको उल्लेख गर्दै उनले अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने बताए। 

श्रेष्ठले अन्य सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए। 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराएका थिए। 

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जनाकर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएका थिए। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्मा लक्ष्मी जीसीलगायत कर्मचारीहरुको उपस्थिति थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ।