काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीलाई आइतबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ। 

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई आधुनिक गुणस्तरीय बैंकिङ सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए। उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए। 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराएका थिए। 

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएका थिए। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जीसीलगायत कर्मचारीहरुको उपस्थिति थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।