काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इस्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस अस्पतालबीच अस्पतालका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौताअनुसार अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने छ। बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ। हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ। 

सम्झौताअनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यस सम्झौतापश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ। कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षितको उपस्थिति थियो।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारीलगायत कर्मचारीको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस, सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।