काठमाण्डौ । राष्ट्रिय योजना आयोगको सदइसमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन्। 

बुढाथोकी दोस्रोपटक आयोगको सदस्य नियुक्त भएका हुन्। यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए। सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि सपथ भने बाँकी थियो। 

बुढाथोकीले आइतबारै सपथ पनि पदभार ग्रहणसमेत गरेका छन्। आयोगको काम कारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन्। 

आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन्। 

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएका व्यक्ति हुन्। रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले वेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र वेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन्। 

नेपालबाहेक बुढाथोकीसँग इरान, वेलायत, बंगलादेश जस्ता मुलुकहरुमा काम गरेको अनुभवसमेत छ। राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनको अनुभव साथै यूएनडीपी, यूएसआईडी, युनेस्कोजस्ता संस्थामा काम गरेको अनुभवसमेत छ।