काठमाण्डौ। मोबाइल अप्रेटर एनसेलले चीनमा सञ्चालन हुने चौथो पारा एसियन गेम्समा सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई  सफलताको शुभकामना दिएको छ।

एक कार्यक्रमको आयोजना गरी एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।

कम्पनीले राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ। यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडीहरु खेल्नेछन्। एथ्लेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपालको प्रतिनिधित्व हुने बताइएको छ ।
खेलप्रति खेलाडीहरुको लगनशीलता र इच्छा शक्तिलाई सम्मान गर्ने बताउँदै कम्पनीले यही विश्वासलाई अझै बलियो साथ प्रदान गर्दै पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणकालागि एनपीसीसँग सहकार्य गरेको जनाएको छ।

सीईओ कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन्। भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका छौं।’

यस्तै, राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले  देशका विभिन्न कुनामा रहेका पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

यस्तै, पारा एथलिट साङबु भोटेले आफ्नो सपनाहरु ठूलो रहेको बताउँदै यी सपनाहरु साकार पार्न दृढ संकल्पमा कुनै कमी नरहने बताए।

चौथो पारा एसियन गेम्स  आगामी कात्तिक ५ गतेदेखि चीनको ह्‍वाङ्जाओ सहरमा हुँदैछ।