काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले राष्ट्रिय बिमा कम्पनी लिमीटेडको साधारणसभा सम्बन्धी सूचना समयअघि नै चुहिएको भन्दै सो प्रकरणको बिषयमा छानबिन थाल्न माग गरेको छ । 

संघका महासचिव जगन्नाथ पूडासैनीले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय बिमा कम्पनी लिमीटेडले भदौ २६ गते साधारणसभाको बिषयमा निकालेको सूचनाको बिषयमा सम्बन्धित निकायलाई कम्पनीको सेयरमूल्यमा प्रत्यक्ष असर पार्ने सूचना सबैभन्दा पहिला नेप्सेमा दिनुपर्नेमा सार्वजनिक मिडियामा दिएर चलखेल गरिएको भन्दै सो प्रकरणको बिषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् । 

राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सूचना समयअघि नै चुहावट भएको बिषयमा धितोपत्र बोर्डले छानबिन गरी यथार्थ कुरा बाहिर ल्याउन माग गरिएको छ । 

संघले नेपाल स्टक एक्सचेञ्जले आफ्नो वेबसाइटमार्फत सूचना प्रकाशित गर्ने प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ । 

‘कुनै पनि कम्पनीको सूचना घटीमा ३ दिन नेप्सेको कारोबार समयमा नोटिस बोर्डमा देखिनुपर्ने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ ।’–विज्ञप्तिमा भनिएको छ ।