काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन्। सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ।

समारोहमा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए। गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने धारणा राखे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, गाउँपालिकाका वडा अध्यक्षहरु, स्थानीय उद्यमीहरुलगायतको उपस्थिति थियो।